२०८२ श्रावण ७ गते, बुधबार १९:२८

काठमाडौँ-

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा भिजिट भिसामा मान्छेहरु छोडेर आएको आरोप लगाउने सांसदले नै आत्मालोचना गर्नुभएको बताउनुभएको छ ।

पत्रकार सम्मेलनका क्रममा सिंहदरबारमा बोल्दै उहाँले प्रधानमन्त्री ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरु नफर्किएको भन्ने आरोप निराधार रहेको बताउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा प्रधानमन्त्रीसँगै गएका केही मानिसहरु प्रधानमन्त्रीले स्पेनमै छोडेर आएको आरोप लगाउनुभएको थियो । आरोप लगाएको भोलिपल्ट सभाको बैठकमा आफूले प्रधानमन्त्रीसँग गएका मानिसहरु नफर्किएको नभनेको बताउनुभएको थियो । त्यसपछि लगातार यसबारेमा प्रश्न उठ्दै आएको छ । यद्यपि सरकारले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा भिजिट भिसामार्फत गएर नफर्किएका मानिसहरु हुनसक्ने भन्दै अनुसन्धान शुरु गरिसकेको छ । प्रधामन्त्रीको नेतृत्वमा गएका सबै फर्किएको पनि सरकारको दाबी छ । सोह सम्बन्धमा सञ्चारकर्मीहरुले गरेको प्रश्नमा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्रीसँग कति जना जाने भन्ने आचारविधि नै रहेको र भ्रम फिँजाइएकोमा आत्मालोचना सांसद स्वयंले गरिसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्पेन भ्रमणमा प्रधानमन्त्री जानुभएको बारेमा कुरा उठ्यो । संसदमा प्रश्न गर्नुभएको माननीयज्युले एक खालको आत्मलोचना गर्नुभएको छ । मैले त्यसो भनेको होइन भनेको होइन भन्नुभएको छ । प्रधानमन्त्रीले लिएर गए र छोडेर आए भन्ने प्रश्न थियो । सम्माननीय प्रधानमन्त्रीज्युको आचारविधि नै छ । कति जना लैजाने, के लैजाने भन्ने । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री बाहिर जाँदा २१ जना भन्दा बढी नलैजाने भन्ने छ ।’

मन्त्री गुरुङले स्पेन भ्रमणका क्रममा संयुक्त राष्ट्र संघको कार्यक्रममा सरकारी सूचिबाट बाहिर रहेर गएका तर नफर्किएकाहरुको बारेमा सरकारले अनुसन्धान गरिरहेको बताउनु भयो । प्रधानमन्त्रीसँग गएको मान्छे छोडेर आएको कुरा ३२ सै आना गलत भएको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस