काठमाडौँ –

जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पुनर्विचार गरी सरकारमा सहभागी हुने तयारी गरेको छ। गत असार ८ र ९ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ओली सरकार असफल भएको निष्कर्ष निकाल्दै समर्थन फिर्ता लिने निर्णय गरेको थियो, तर संसदीय दलले यो निर्णयलाई आधिकारिक बनाउन सकेको छैन।
प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग सोमबार राति भएको भेटपछि जसपा अध्यक्ष उपेन्द्र यादवको समर्थन फिर्ता लिने ‘मुड’ बदलिएको पार्टी नेताहरूले बताएका छन्। ओली र देउवाले सत्ता सहकार्यको प्रस्ताव राखेपछि यादवले भूमिसम्बन्धी विधेयकमा संशोधन, सत्ता गठबन्धनमा जसपाको अपनत्व, र केन्द्रदेखि प्रदेशसम्मका त्रुटि सच्याउने शर्त राखेका छन्। जसपाका वरिष्ठ उपाध्यक्ष राजकिशोर यादवका अनुसार यी विषयमा सैद्धान्तिक सहमति बनेपछि मात्र सत्ता सहकार्यको ढोका खुल्नेछ।
जसपाको समर्थन राष्ट्रियसभामा सत्तापक्षका लागि निर्णायक छ। ५९ सदस्यीय राष्ट्रियसभामा जसपाका ३ सिट बाहिरिएमा सत्तारुढ गठबन्धन २८ सिटमा सीमित भई अल्पमतमा पर्छ, जसले कानुन निर्माणमा बाधा पुग्नेछ। मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा रहेको सरकारमा कांग्रेस र एमाले सहभागी छन्। यादव केन्द्रमा उपप्रधानमन्त्री पाए मधेसमा कांग्रेसलाई सरकारको नेतृत्व दिन तयार छन्। साथै, लुम्बिनी प्रदेश सरकारमा पनि जसपाका मन्त्रीहरू सहभागी हुने सम्भावना छ।