२०८३ जेष्ठ ७ गते, बिहीबार १२:१७

बढ्दो चिसोले तराईको जनजीवन प्रभावित,कडा श्रम तथा दैनिक ज्यालादारी गर्नेहरू बढी मारमा

वीरगन्ज-
लगातार पाँच दिनदेखि परेको शीतलहर र त्यससँगै बढ्दै गएको चिसोका कारण बारा, पर्सा लगायत मधेस प्रदेशका आठै जिल्लाको जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। दिनभरजसो घाम नलाग्ने र चिसो हावा चलिरहँदा तराईवासीको दैनिकी प्रभावित बनेको हो।

बढ्दो चिसोबाट जोगिन सर्वसाधारणले घर–आँगन तथा चौक–चौराहामा आगो बालेर ताप्ने गरेका छन्। बिहानको समयमा लाग्ने बाक्लो हुस्सुका कारण सडकमा दृश्यता कम हुँदा सवारी साधन सञ्चालनमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ।

चिसोले सबैभन्दा बढी दैनिक ज्यालादारी गरी आफ्नो तथा परिवारको भरणपोषण गर्ने वर्ग प्रभावित भएका छन्। विशेषगरी रिक्सा चालक, ठेला चालक, निर्माण मजदुरलगायत कडा श्रम गर्नेहरू चिसोका कारण बढी मारमा परेका छन्।

वीरगन्जमा लामो समयदेखि रिक्सा चलाउँदै आएका रौतहट निवासी रामदयाल साहका अनुसार चिसो बढेपछि मानिसहरू घरमै बस्न थालेका छन्, जसका कारण बजारमा चहलपहल घटेको छ र सवारी पाउनै मुस्किल भएको छ। “सवारी नपाउँदा परिवारको भरणपोषणमै समस्या परेको छ,” साहले बताए। वीरगन्जमा रिक्सा चलाएरै परिवारको आवश्यकता पूरा गर्दै आएको तर चिसोका कारण आम्दानी निकै घटेको उनले दुःखेसो गरे।

बढ्दो चिसोका कारण एकातर्फ दैनिक ज्यालादारी गर्नेहरू प्रभावित भइरहेका छन् भने अर्कोतर्फ बिरामीको संख्या पनि बढ्दै गएको छ। नारायणी अस्पताल, वीरगन्जका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार चिसो बढेसँगै उपचारका लागि अस्पताल आउने बिरामीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ।

डा. सिंहका अनुसार अस्पताल आउने बिरामीमध्ये रुघा–खोकी, कोल्ड डायरिया, ज्वरो, दम, उच्च रक्तचाप, हृदयघात तथा पक्षघातका बिरामी बढी छन्। हाल अस्पतालको बहिरंग तथा आकस्मिक विभागमा विशेषगरी श्वासप्रश्वास सम्बन्धी समस्या लिएर वृद्धवृद्धा र बालबालिका बढी आउने गरेका छन्।

बढ्दो चिसोबाट बालबालिकालाई जोगाउन वीरगन्ज महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पुस ७ गतेदेखि ११ गतेसम्म विद्यालयको पठनपाठन बन्द रहने जानकारी दिएको हो।

लगातार घट्दो तापक्रमका कारण विद्यालय आउने बालबालिका बिरामी हुने जोखिम बढेकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच चिकित्सकहरूले चिसोबाट जोगिन सर्वसाधारणलाई न्यानो कपडा लगाउन, तातोपानी तथा झोलिलो पदार्थ सेवन गर्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सुझाव दिएका छन्।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

पोडकास्ट सुन्नुहोस