वीरगन्ज —
वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले १५ दिने नवजात शिशुको अक्सिजन अभावका कारण मृत्यु भएको भनी फैलाइएको समाचार भ्रामक र तथ्यहीन रहेको स्पष्ट पारेको छ। अस्पताल प्रशासनले बिहीबार एक विस्तृत प्रेस विज्ञप्ति जारी गर्दै शिशुको उपचार प्रक्रिया, स्वास्थ्य अवस्था र घटनापछि अस्पताल परिसरमा भएका अवाञ्छित गतिविधिबारे आधिकारिक धारणा सार्वजनिक गरेको हो।
भर्ना हुँदाकै अवस्था अत्यन्त गम्भीर
अस्पतालका अनुसार गत कात्तिक २९ गते साँझ ७:२० बजे तीन दिनदेखिको ज्वरो, शरीर पहेँलो हुने (जन्डिस) र ७ घण्टाभित्रै ५ देखि ७ पटक कम्पन (सेजर) आएपछि शिशुलाई आकस्मिक कक्षमा ल्याइएको थियो। परीक्षणका क्रममा शिशुको रगतमा बिलिरुबिनको मात्रा अत्यधिक अर्थात् २६.४ mg/dL देखिएको थियो, जसले मस्तिष्कमा गम्भीर स्नायुसम्बन्धी जटिलता निम्त्याउने जोखिम रहन्छ।
विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा एनआईसीयू (NICU) मा राखेर उपचार थालिएपछि पहिलो १२ घण्टाभित्रै बिलिरुबिन घटेर १५.१ mg/dL मा झरेको थियो। तर, कात्तिक ३० गते रगतमा क्याल्सियमको कमी देखिएपछि सोको समेत उपचार गरिएको अस्पतालले जनाएको छ। सुरुवाती चरणमै पटक–पटक कम्पन आएकाले शिशुको स्नायु प्रणालीमा गम्भीर असर परिसकेको चिकित्सकीय निष्कर्ष छ।
मंसिर १ गते दिउँसो २:१५ बजेसम्म स्थिर रहेका शिशुको ३:०० बजे एक्कासि श्वासप्रश्वास रोकिने (Apnea) र मुटुको धड्कन घट्ने समस्या देखिएको थियो। अक्सिजनको मात्रा ५६ प्रतिशतमा झरेपछि भेन्टिलेटर, सीपीआर (CPR) र जीवनरक्षक औषधिहरूमार्फत निरन्तर प्रयास गर्दागर्दै साँझ ५:०५ बजे शिशुको निधन भएको विज्ञप्तिमा उल्लेख छ।
अक्सिजन अभावको दाबीको खण्डन
अस्पतालमा अक्सिजन सकिएर शिशुको ज्यान गएको भन्ने आरोपको खण्डन गर्दै अस्पतालले आफ्नो अक्सिजन आपूर्ति प्रणाली तीन तहमा सुरक्षित रहेको जनाएको छ। अस्पतालमा मुख्य स्रोतका रूपमा केन्द्रीय अक्सिजन प्लान्ट, दोस्रो विकल्पका रूपमा केन्द्रीय सिलिन्डर म्यानिफोल्ड र तेस्रो विकल्पका रूपमा एनआईसीयू बाहिरै छुट्टै म्यानिफोल्ड तथा तयारी अवस्थाका अतिरिक्त सिलिन्डरहरू सधैँ रहने अस्पतालले स्पष्ट पारेको छ।
तालाबन्दी र एम्बुलेन्स अवरोधप्रति गम्भीर ध्यानाकर्षण
शिशुको निधनको विषयलाई लिएर मंसिर २ गते अस्पताल परिसरमा भएको तालाबन्दी र अवरोधप्रति अस्पतालले गम्भीर आपत्ति जनाएको छ। विरोधका नाममा मुख्य प्रवेशद्वारमा तालाबन्दी गरी गम्भीर बिरामी बोकेका तीनवटा एम्बुलेन्स र अक्सिजन सिलिन्डर बोकेको गाडीसमेत भित्र छिर्न नदिइएको विज्ञप्तिमा उल्लेख छ।
साथै, बहिरंग (OPD) सेवा अवरुद्ध पारिएको, चिकित्सक तथा कर्मचारीलाई ज्यान मार्ने धम्की दिइएको र महिला स्वास्थ्यकर्मीमाथि हातपात तथा दुर्व्यवहार भएको भन्दै अस्पतालले दोषीमाथि छानबिन र कारबाही गर्न प्रशासनसँग माग गरेको छ।
अस्पतालले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै शिशुको मृत्युका विषयमा हुने कुनै पनि स्वतन्त्र चिकित्सकीय वा प्रशासनिक छानबिनमा पूर्ण सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धतासमेत जनाएको छ।












