२०८३ मंसिर ४ गते, शुक्रबार २:५७

नेकपा (एमाले) को राष्ट्रिय कार्यकर्ता भेला २१ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न, निर्वाचन र आन्दोलनको तयारी गर्ने निर्णय

काठमाडौँ —

नेकपा (एमाले) को दुईदिने राष्ट्रिय कार्यकर्ता भेला लोकतन्त्रको पुनर्बहाली, राष्ट्रिय स्वाधीनताको रक्षा, पार्टीको सङ्गठनात्मक सुदृढीकरण तथा आगामी निर्वाचनको तयारीलगायत २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गर्दै बिहीबार सम्पन्न भएको छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ आयोजित भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो। भेलामा देशभर र प्रवासबाट गरी तीन हजार ४१४ प्रतिनिधिको सहभागिता रहेको थियो।

निर्वाचन र आन्दोलनको तयारी भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रियसभा निर्वाचनको पूर्वतयारीमा जुट्ने निर्णय गरेको छ। साथै, आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि सशक्त आन्दोलनको तयारी गर्ने सङ्कल्पसमेत पारित गरिएको छ। भेलामा अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शङ्कर पोखरेलले विभिन्न विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्नुभएको थियो।

पारित २१ बुँदे प्रस्तावका मुख्य बुँदाहरू:

  • छानबिन र कारबाहीको माग:– २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न तथा सार्वजनिक र निजी सम्पत्ति, दलका कार्यालय र व्यावसायिक प्रतिष्ठानमा तोडफोड तथा आगजनी गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ।
  • संविधान र सङ्घीयताको रक्षा:– प्रदेश खारेजीको बहस, संवैधानिक निकायमाथिको हस्तक्षेप तथा राज्यका संस्थाहरूलाई राजनीतिक स्वार्थअनुसार परिचालन गर्ने प्रयासप्रति भेलाले गम्भीर आपत्ति जनाएको छ।
  • जनजीविका र विपद् व्यवस्थापन:- महँगी नियन्त्रण, घरायसी विद्युत्मा लगाइएको कर फिर्ता, सुकुम्बासी व्यवस्थापन र व्यवसायीमैत्री वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ। त्यस्तै, भोटेकोशी बाढीपीडितको तत्काल पुनःस्थापना र क्षतिग्रस्त सडक तथा पुलको मर्मतसम्भार गर्न माग गरिएको छ।
  • परराष्ट्र सम्बन्ध र भारत भ्रमण:– छिमेकी मुलुकसँगको सम्बन्ध सार्वभौम समानतामा आधारित हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा सीमा समस्या, असमान सन्धि, इपिजी (EPG) प्रतिवेदन, व्यापार घाटा र हवाई प्रवेश बिन्दुबारे स्पष्ट धारणा राख्न आग्रह गरिएको छ। प्रवासी नेपालीको मताधिकार र खाडीका श्रमिकको सुरक्षा सुनिश्चित गर्नसमेत भनिएको छ।
  • पार्टी शुद्धीकरण र आचारसंहिता:- नेता तथा कार्यकर्तामा देखिएको विलासी जीवनशैली, जनताबाट टाढिने प्रवृत्ति, गुटबन्दी र भ्रष्टाचारप्रति निर्मम बन्ने तथा युवा पुस्तासँग संवाद र सहकार्य बढाउने प्रतिबद्धता भेलाले गरेको छ।

राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षाका लागि सबै देशभक्त तथा लोकतन्त्र पक्षधर शक्ति, नागरिक समाज र बौद्धिक समुदायसँग सहकार्य र जनदबाब सिर्जना गर्नसमेत भेलाले आह्वान गरेको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस