वीरगन्ज-
मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले चालु आर्थिक वर्षभित्र कृषि क्षेत्रमा ४० अर्ब रुपैयाँभन्दा बढी लगानी हुने जानकारी दिनुभएको छ। जिउँकोपार्जनमा मात्र सीमित रहँदै आएको कृषिलाई व्यवसायिक र नाफामुखी बनाउने उद्देश्यले प्रदेश सरकारले विभिन्न वैदेशिक लगानीकर्ता तथा दातृ निकायसँग समन्वय गरिरहेको उहाँले बताउनुभयो।
नेपाली कांग्रेस पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको नवनियुक्त मुख्यमन्त्रीसहित मधेस प्रदेश सरकारका मन्त्रीहरूको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले आउँदो असार मसान्तभित्र प्रदेश सरकार र दातृ निकायबीच लगानीसम्बन्धी सम्झौता सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले कृषि क्षेत्र नाफामूलक नभएसम्म नागरिकको जीवनस्तरमा उल्लेखनीय सुधार सम्भव नहुने यथार्थलाई आत्मसात् गर्दै प्रदेश सरकारले विभिन्न देशका दातृ निकायसँग छलफल गरी लगानी सुनिश्चित गरेको जानकारी दिनुभयो। कृषिमा आम्दानी बढेसँगै रोजगारीका लागि विदेश जाने युवाको पलायन रोकिने, प्रदेश समृद्धि तर्फ उन्मुख हुने र राष्ट्र खाद्यान्न आत्मनिर्भरतातर्फ एक कदम अघि बढ्ने उहाँको विश्वास छ।
मुख्यमन्त्री यादवले प्रदेशमा सुशासन कायम गर्दै स्वास्थ्य, शिक्षा र पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी पनि दिनुभयो। मधेस प्रदेशको जनसंख्या धेरै भए पनि आवश्यकताअनुसार अस्पताल र विद्यालयको संख्या कम रहेकाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो। आवश्यकताअनुसार चिकित्सक र शिक्षकको अभाव रहेकाले जनशक्ति व्यवस्थापनतर्फ प्रदेश सरकारले पहल गरिरहेको उहाँको भनाइ छ।
पर्यटन प्रवद्र्धनका प्रचुर सम्भावना रहेको मधेस प्रदेशमा विदेशी पर्यटक भित्र्याउन आवश्यक परे विशेष कानुन निर्माण गर्ने सोचका साथ सरकार अघि बढेको मुख्यमन्त्री यादवले जानकारी दिनुभयो। साथै प्रदेशमा उद्योग, पर्यटन र कृषि क्षेत्रमा लगानी भित्र्याउन चाँडै लगानी सम्मेलन आयोजना गर्ने तयारी भइरहेको र यसका लागि विज्ञहरूको सुझावअनुसार मार्गचित्रसमेत तयार भइसकेको उहाँले बताउनुभयो।
कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगिलाल राय यादवले प्रदेशका अस्पतालहरूको अवस्था सुधार तथा औषधिको नियमित आपूर्तिप्रति सरकार गम्भीर रहेको बताउनुभयो। अस्पतालहरूको भौतिक संरचना निर्माणदेखि निःशुल्क औषधि आपूर्तिलाई नियमित बनाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो। साथै प्रदेशमा क्यान्सर अस्पताल निर्माण र पूर्व–पश्चिम राजमार्गमा ट्रामा अस्पताल स्थापना गर्ने तयारीसमेत भइरहेको उहाँले बताउनुभयो।
कार्यक्रममा वन तथा वातावरण मन्त्री शंकर चौधरीले आफ्नो मन्त्रालय प्रत्यक्ष रूपमा जनतासँग जोडिएको नदेखिए पनि नागरिकको शिर निहुरिने कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाली कांग्रेस पर्साका अध्यक्ष जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले प्रदेशका किसानलाई समयमा रासायनिक मल र सिँचाइ सुविधा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले पूर्व कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीले प्रस्ताव गरेको कृषक स्वयंसेविका सम्बन्धी व्यवस्था चाँडै प्रदेशभर लागू गर्ने तयारी भइरहेको र यसका लागि आवश्यक मस्यौदा तयार गरी मुख्यमन्त्री कार्यालयमा पठाइसकिएको बताउनुभयो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व संघीय मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य अजय चौरसियाले मुख्यमन्त्री यादवसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगिलाल राय यादव, वन तथा वातावरण मन्त्री शंकर चौधरी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेललाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो।













