२०८२ पुष ३० गते, बुधबार ११:४०

वीरगन्जको नेपाल रेलवे माध्यमिक विद्यालयमा २०० विद्यार्थीलाई आत्मरक्षा तालिम

वीरगन्ज-

वीरगन्ज महानगरपालिकाको आयोजनामा वडा नं. ९ गोश्वारा रोडस्थित श्री नेपाल रेलवे माध्यमिक विद्यालयमा एक दिने आत्मरक्षा (Self-Defense) सम्बन्धी प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

विद्यालयकै प्राङ्गणमा सञ्चालन गरिएको उक्त तालिममा विद्यालयका करिब २०० जना छात्र तथा छात्राहरूले उत्साहजनक सहभागिता जनाएका थिए। तालिममा राष्ट्रिय खेलाडीहरू अस्मिता धरेल र रविकिषण यादवले मुख्य प्रशिक्षकको रूपमा विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो।

प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई आकस्मिक अवस्थामा आइपर्ने सम्भावित जोखिमहरूबाट कसरी जोगिने, आफूमाथि हुनसक्ने आक्रमणको प्रतिकार कसरी गर्ने र आत्मरक्षाका आधारभूत सीपहरूका बारेमा व्यवहारिक अभ्यास गराइएको थियो। विशेषगरी छात्राहरूको आत्मविश्वास अभिवृद्धि गर्ने र सुरक्षाको अनुभूति गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

तालिममा सहभागी विद्यार्थीहरूले सिकेका सीपहरू अत्यन्तै उपयोगी र व्यवहारिक रहेको भन्दै खुशी व्यक्त गरेका छन्। वीरगन्ज महानगरपालिकाले यस अभियानलाई निरन्तरता दिने र आगामी दिनमा महानगरभित्रका अन्य विभिन्न विद्यालयहरूमा पनि यस्तै प्रकारका आत्मरक्षा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जनाएको छ।

पोडकास्ट सुन्नुहोस