काठमाडौं-
नेपाली कांग्रेसभित्रको आन्तरिक कलह नयाँ मोडमा पुगेको छ। पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली र आगामी चुनावी रणनीतिलाई लिएर महामन्त्री विश्वप्रकाश शर्माले अघि सारेका मुख्य सर्तहरूलाई संस्थापन पक्षले अस्वीकार गरिदिएको छ।
महामन्त्री शर्माले पार्टी सुधारका लागि भन्दै पठाएको ८ बुँदे प्रस्तावमा संस्थापन पक्षका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जवाफ पठाउँदै तीनवटा ‘क्रिटिकल’ मागहरू मान्न नसकिने प्रस्ट पारेका छन्।
के थिए शर्माका ८ बुँदा, के भन्यो संस्थापनले?
महामन्त्री शर्माले ह्वाट्सएपमार्फत कार्यवाहक सभापति खड्कालाई ८ बुँदे प्रस्ताव पठाउनुभएको थियो। जसमा ५ बुँदामा सहमति जनाउन सकिने बताए पनि देउवाको ‘पावर’ संकुचित हुने ३ मुख्य बुँदामा खड्काले ‘ब्रेक’ लगाउनुभएको छ।
संस्थापनले अस्वीकार गरेका तीन मुख्य सर्तहरू:
१. कार्यकारी भूमिका त्याग: सभापति शेरबहादुर देउवाले पार्टीको कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने।
२. प्रधानमन्त्रीको उम्मेदवार घोषणा: आगामी प्रतिनिधि सभा निर्वाचनका लागि अहिल्यै प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने।
३. उच्चस्तरीय संयन्त्र: निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय शक्तिशाली उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने।
कार्यवाहक सभापति खड्काले यी मागहरू पार्टीको विधान र वर्तमान शक्ति सन्तुलन विपरीत रहेको संकेत गर्दै स्वीकार गर्न नसकिने जवाफ ह्वाट्सएपमै फर्काउनुभएको छ।
८ मिनेटको ‘अल्टिमेटम’ र केन्द्रीय समिति
यो संवाद केवल प्रस्तावमा मात्र सीमित रहेन। कार्यवाहक सभापति खड्काले महामन्त्री शर्मालाई जवाफका लागि मात्र ८ मिनेटको समय दिनुभएको बुझिएको छ। उक्त समयसीमा पछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बसेर अन्य प्रक्रिया अगाडि बढाइने खड्काले पठाएको सन्देशमा उल्लेख छ।
किन तातियो कांग्रेस?
पार्टीभित्र पुस्तान्तरण र नेतृत्व परिवर्तनको एजेन्डा उठाउँदै आएका महामन्त्री शर्माले देउवालाई कार्यकारी भूमिकाबाट हटाउने सर्त राख्नुलाई संस्थापन पक्षले ‘विद्रोह’ को रूपमा लिएको छ। विशेषगरी आगामी निर्वाचनमा प्रधानमन्त्रीको अनुहार अहिल्यै सुनिश्चित गर्नुपर्ने मागले देउवाको भविष्यको प्रधानमन्त्री बन्ने बाटोमा अवरोध सिर्जना गर्ने देखेपछि संस्थापन पक्ष कठोर बनेको हो।
यस घटनाले कांग्रेसको आगामी केन्द्रीय कार्यसमिति बैठक निकै तातो हुने संकेत गरेको छ। ८ बुँदे प्रस्ताव र त्यसको खण्डनले पार्टीभित्रको संस्थापन र इतर समूहबीचको खाडल झनै फराकिलो बनाएको छ।














