२०८२ माघ ३ गते, शनिबार १०:५९

नवगठित कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो बैठक आज बस्दै

बैठकको मुख्य एजेन्डा निर्वाचन केन्द्रीतः केन्द्रीय सदस्य शिवाकोटी

वीरगन्ज ।

नेपाली कांग्रेसको नवगठित केन्द्रीय कार्यसमितिको दोस्रो बैठक शनिबार (आज) बस्दै छ।

पार्टी सभापति गगन थापाले आज बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा केन्द्रीय कार्यसमिति बैठक बोलाउनुभएको हो। विशेष महाधिवेशनपछि निर्वाचित कार्यसमितिको यो दोस्रो बैठक हो।

आज बस्ने केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा पार्टीभित्रको एकता सुदृढ गर्दै प्रतिनिधि सभा निर्वाचन केन्द्रीत रहने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा पार्टीभित्र समन्वय, सहकार्य र एकतालाई प्राथमिकतामा राख्दै छलफल हुनेछ भने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने विषयमा समेत गम्भीर छलफल हुने छ।

विशेष महाधिवेशनबाट उठेका प्रमुख मागहरूलाई आत्मसाथ गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न संसदीय बोर्डलाई पूर्णता दिने विषय पनि बैठकको एजेन्डामा रहेको शिवाकोटीले बताउनुभयो। देशभरबाट प्रतिनिधि सभा उम्मेदवारका नाम सिफारिस भई आइसकेकाले ती नामहरूमाथि अन्तिम निर्णय लिन संसदीय बोर्डलाई पूर्णतादिने तयारी केन्द्रीय समितिले गरेको उहाँको भनाइ छ।

फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको अन्तिम म्याद रहेकाले नयाँ र पुराना दुवैलाई समेट्दै नेपाली कांग्रेसले आफ्नो उम्मेदवार छनोट गर्ने तयारी गरेको छ।

आसन्न निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउँदा कुनै पनि प्रकारको भेदभाव, आग्रह वा पूर्वाग्रह नगरी निष्पक्ष ढंगले निर्णय लिने गरी केन्द्रीय समितिले काम अघि बढाउने शिवाकोटीले जानकारी दिनुभयो।

पोडकास्ट सुन्नुहोस