२०८२ माघ ४ गते, आईतवार ०९:२२

जसपाको ‘बढी सिट’ दाबीले मोर्चाभित्र तानातान

सहमति खोज्दै नेताहरू, निर्वाचन नजिकिँदै जाँदा दबाब चुलिँदो

वीरगन्ज-
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मधेश केन्द्रित दलहरूको संघीय लोकतान्त्रिक मोर्चाभित्र सिट बाँडफाँटलाई लिएर चर्को रस्साकस्सी सुरु भएको छ । टिकट वितरणको अन्तिम टुंगो लगाउन मोर्चा निरन्तर बैठकमा व्यस्त देखिए पनि सहमतिको दूरी अझै घट्न सकेको छैन ।

मोर्चामा आवद्ध दलहरूबीच कसले कति सिट पाउने र कुन क्षेत्रमा उम्मेदवारी दिने भन्ने विषय नै सबैभन्दा ठूलो गाँठो बनेको छ । स्रोतका अनुसार, सिट बाँडफाँटमा सहमति जुट्न नसक्दा मोर्चाको निर्णय प्रक्रिया लम्बिँदै गएको छ । चुनावी तालमेल गर्ने सहमति कागजमै सीमित बनेको आरोप समेत भित्रभित्रै उठ्न थालेको छ ।

मोर्चामा जनता समाजवादी पार्टी नेपाल (जसपा), राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपाल रहेका छन् । यसअघि लोसपा नेपालमा तराई मधेश राष्ट्रिय पार्टी र जनता प्रगतिशील पार्टी समाहित भइसकेका छन् भने, लोसपा पनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमै एकीकृत भएको छ । यही राजनीतिक पुनर्संरचनापछि जसपा नेपालले बढी सिटमा दाबी गरिरहेको एकजना मोर्चा स्रोतले बताए ।

यही दाबीका कारण साना दलहरू असन्तुष्ट देखिन थालेका छन् । राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनमत पार्टीका नेताहरूले जसपा नेपालको अडानले सिट बाँडफाँट प्रक्रिया ढिलाइ भइरहेको संकेत गरेका छन् । राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव सन्तोष मेहताका अनुसार, चुनाव केन्द्रित दुई वटा बैठक बसे पनि अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन ।
उनले भने, “बैठकहरू भएका छन्, तर निष्कर्ष शून्य छ ।”

यद्यपि जसपा नेपालका नेताहरू भने सहमति नजिकै पुगेको दाबी गर्छन् । जसपा नेपालका नेता रामकुमार शर्माका अनुसार मोर्चाका शीर्ष नेताहरू आन्तरिक छलफलमा व्यस्त छन् र छिट्टै सिटको टुंगो लाग्ने सम्भावना छ ।
उनले भने, “एक–दुई दिनभित्र सहमति हुन्छ ।”

मोर्चाभित्र सबै क्षेत्रमा अनिवार्य तालमेल गर्ने सम्भावना न्यून देखिएको छ । बैठकमा जहाँ जित्ने सम्भावना बलियो छ, त्यहाँ तालमेल गर्ने र तालमेल नहुने ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने रणनीतिमा जानेबारे छलफल भएको एकजना शीर्ष नेताले जानकारी दिए ।

यसैबीच, जनमत पार्टीका उपाध्यक्ष ई. नरेन्द्रप्रसाद चौधरीले समय कम हुँदै जाँदा दलहरूमाथि दबाब बढेको स्वीकार्दै सहमतिका लागि प्रयास जारी रहेको बताए ।
उनले भने, “निर्वाचन नजिकिँदै जाँदा सबै दलहरू दबाबमा छन् । शीर्ष तहमा छलफल भइरहेको छ, चाँडै केही निष्कर्ष आउनेछ ।”

निर्वाचनको घडी नजिकिँदै गर्दा मोर्चाभित्रको यो सिट–संघर्षले अन्ततः एकताको सन्देश दिने कि विभाजनको संकेत गर्ने भन्ने प्रश्न अझै खुल्लै छ ।

पोडकास्ट सुन्नुहोस