वीरगन्ज-
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पर्सा जिल्लाको नेतृत्व युवा नेता तबरेज अहमदलाई सुम्पेको छ। पार्टीका केन्द्रीय अध्यक्ष अशोक कुमार राईले आज एक पत्र जारी गर्दै अहमदलाई पर्सा जिल्ला समितिको अध्यक्ष पदमा मनोनयन गर्नुभएको हो।
अहमद हाल भूमि समस्या समाधान आयोग, पर्साको अध्यक्षको रूपमा समेत कार्यरत हुनुहुन्छ। गाउँको सामान्य परिवेशबाट राजनीतिक यात्रा सुरु गरी जिल्लाको नेतृत्वदायी तहमा पुग्न सफल अहमद पर्साका प्रभावशाली र जुझारु युवा नेताका रूपमा चिनिनुहुन्छ।
लामो समयदेखि तल्लो तहबाटै राजनीतिमा सक्रिय अहमदलाई जिल्लाको कमान्ड सुम्पिएपछि जसपाका स्थानीय कार्यकर्ताहरूमा नयाँ उत्साह देखिएको छ। उनको नेतृत्वले जिल्लामा पार्टी सङ्गठनलाई सुदृढ बनाउने र युवाहरूलाई पार्टीमा आकर्षित गर्ने अपेक्षा गरिएको छ।
पार्टी पङ्क्तिले यस मनोनयनलाई ‘युवा र क्षमताको कदर’ को रूपमा लिएको छ। जिल्लाका विभिन्न राजनीतिकर्मी तथा शुभेच्छुकहरूले अहमदलाई सामाजिक सञ्जालमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिइरहेका छन्।














