२०८२ माघ ४ गते, आईतवार १५:३२

पर्सा क्षेत्र नं. १ बाट प्रदीप यादवले टिकट पाउने सम्भावना घट्दै

वीरगन्ज-

 पर्सा निर्वाचन क्षेत्र नं. १ बाट दुई पटक प्रतिनिधि सभामा निर्वाचित भई मन्त्रीसमेत भइसकेका प्रदीप यादवले यस पटक टिकट पाउने सम्भावना कम देखिएको छ। सत्ता सुखमा मात्र केन्द्रित रहेको आरोप खेपिरहेका यादवलाई जनता समाजवादी पार्टी (जसपा) ले यसपालि उम्मेदवार बनाउने सम्भावना न्यून रहेको पार्टीको उच्च तहका एक पदाधिकारीले बताएका छन्।

सत्तामा पुग्नकै लागि सधैँ लालायित रहने स्वभाव भएका यादवले मन्त्री पद प्राप्त गर्नकै लागि पार्टी समेत विभाजन गर्ने खेल खेलेकाले यसपालि उनको टिकट पाउने सम्भावना घटेको स्रोतको दाबी छ। पार्टीको जिल्ला तहबाट सिफारिस भएर आएका नामहरूमध्येबाट नै उम्मेदवार चयन गरिने तयारी भइरहेको बुझिएको छ।

पर्सा निर्वाचन क्षेत्र नं. १ बाट सम्भावित उम्मेदवारका रूपमा पार्टीका महासचिव लालबाबु राउत गद्दी, जिल्ला अध्यक्ष रामनरेश यादव र बालकिशोर यादवको नाम सिफारिस भएको छ। स्रोतका अनुसार यी तीन नाममध्येबाट नै कसैले टिकट पाउने निश्चित जस्तै छ।

यस विषयमा पार्टीका महासचिव एवं मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीसँग बुझ्दा, उहाँले जिल्ला स्तरबाट सिफारिस भई आएका नामहरूलाई नै मुख्य आधार मानी उम्मेदवारको टुङ्गो लगाइने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पर्सा क्षेत्र नं. १ बाट दुई पटक निर्वाचित भएका यादवले टिकटको अपेक्षा राख्नु स्वाभाविक हो, तर पार्टीले सबै पक्षलाई मध्यनजर गर्दै उचित उम्मेदवारको चयन गर्नेछ।”

पार्टी केन्द्रीय समितिको बैठक अहिले काठमाडौँमा जारी छ। आज साँझसम्म मधेस प्रदेशका आठवटै जिल्लाका उम्मेदवारहरूको नाम टुङ्गो लगाइने महासचिव गद्दीले बताउनुभयो। आफू मधेस प्रदेश सभाको सदस्य रहेकाले प्रतिनिधि सभामा निर्वाचन लड्ने कुनै आकांक्षा नरहेको स्पष्ट पार्दै उहाँले जिल्लाबाट सिफारिस भएका व्यक्तिहरूमध्येबाटै एक जनालाई टिकट दिइने दोहोर्‍याउनुभयो।

यसैबीच, जसपा पर्साका जिल्ला अध्यक्ष रामनरेश यादवले जिल्लाबाट सिफारिस नभएका व्यक्तिलाई पार्टीले टिकट दिएमा आफूहरूले त्यो निर्णय नमान्ने चेतावनी दिनुभएको छ। उहाँले जिल्लाको सिफारिस नै अन्तिम हुनुपर्ने अडान व्यक्त गर्नुभयो।

अध्यक्ष यादवले भन्नुभयो, “पार्टीका केन्द्रीय नेताहरूलाई भेटेर तस्बिर खिचाउने र त्यसलाई सामाजिक सञ्जालमा राखेर भ्रम सिर्जना गर्ने तरिका अब काम लाग्दैन। सामाजिक सञ्जालमा तस्बिर राखेर समर्थकहरूबाट ‘टिकट पक्का’ भएको जस्तो टिप्पणी गराउँदैमा पार्टी कार्यकर्तामा भ्रम फैलाउन सकिँदैन। यस्ता गतिविधिले सफलता पाउने छैनन्।”

पर्साको निर्वाचन क्षेत्र नं. २ बाट उद्योगपति अशोक टेमानी लगायत ६ जनाको नाम सिफारिस भएको छ भने निर्वाचन क्षेत्र नं. ३ बाट कसैको नाम सिफारिस भएको छैन। त्यस्तै, क्षेत्र नं. ४ बाट कृपासिन्धु चौधरीको एकल नाम सिफारिस भएको अध्यक्ष यादवले जानकारी दिनुभयो। क्षेत्र नं. २ बाट टेमानी र ४ बाट चौधरीले टिकट पाउने सम्भावना बलियो रहेको उहाँले बताउनुभयो।

पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रदीप यादव पार्टीको सिफारिसमा एक पटक र पार्टी विभाजनको प्रयास गरी अर्को पटक मन्त्री बन्न सफल भएका थिए। मन्त्री बन्नकै लागि पार्टी हितविपरीत काम गर्ने यादवलाई यसपालि उम्मेदवार बनाउन नहुने जसपाका इमानदार नेता तथा कार्यकर्ताहरूको माग रहेको छ।

पोडकास्ट सुन्नुहोस