२०८२ फाल्गुन २१ गते, बिहीबार १३:३३

दिउँसो १२ बजेसम्म पर्सामा २१ प्रतिशत मतदान, क्षेत्र नं. १ मा सबैभन्दा बढी २६ प्रतिशत

वीरगन्ज- 
चार प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको पर्सा जिल्लामा दिउँसो १२ बजेसम्म करिब २१ प्रतिशत मतदान सम्पन्न भएको छ। मतदान सुरु भएको पाँच घण्टामै जिल्लाभर ७६ हजार २ सय ५२ मत खसेको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएको छ।

जिल्लामा कुल ३ लाख ७६ हजार ५ सय १३ जना मतदाता रहेका छन्। प्रारम्भिक तथ्याङ्कअनुसार सबैभन्दा बढी पर्सा निर्वाचन क्षेत्र नं. १ मा २६ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम क्षेत्र नं. २ मा मात्र १४ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृत अनामिका रौनियारले जानकारी दिनुभयो।

रौनियारका अनुसार क्षेत्र नं. १ मा ८९ हजार ६ सय ३८ मतदातामध्ये दिउँसो १२ बजेसम्म २६ हजारभन्दा बढी मत खसेको छ। यस्तै ९५ हजार १ सय २० मतदाता रहेको क्षेत्र नं. २ मा करिब १४ हजार मत खसेको छ।

त्यसैगरी ९६ हजार ५ सय ४२ मतदाता रहेको क्षेत्र नं. ३ मा करिब २१ हजार मत खसेको छ भने ९५ हजार २ सय १३ मतदाता रहेको क्षेत्र नं. ४ मा दिउँसो १२ बजेसम्म १८ हजार २ सय ५२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

पर्साभर १ सय ६७ मतदान स्थल र ४ सय ४१ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ। हालसम्म जिल्लाका अधिकांश केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

पोडकास्ट सुन्नुहोस