२०८३ बैशाख ६ गते, आईतवार १३:०८

वीरगन्जमा भोलि ‘भविष्य मेला’ : करियर काउन्सिलिङसँगै मोबाइल र स्मार्ट वाच जित्ने अवसर

वीरगन्ज-

एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरूको शैक्षिक भविष्य र करियर निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगन्जमा भोलि शनिबार ‘भविष्य मेला २०२६’ आयोजना हुँदैछ। एड्स बी मिडियाको आयोजनामा सिद्धार्थ दियालो होटलमा सञ्चालन हुने उक्त मेलामा सहभागी हुने विद्यार्थीहरूका लागि करियर मार्गदर्शनका साथै विभिन्न आकर्षक उपहारहरूको समेत व्यवस्था गरिएको छ।

आयोजकका अनुसार मेलामा सहभागी हुने विद्यार्थीहरूमध्येबाट गोला प्रथा (लक्की ड्र) मार्फत एक जना भाग्यशाली विद्यार्थीले मोबाइल फोन प्राप्त गर्नेछन्। त्यस्तै, १० जनालाई एयरबड्स, १० जनालाई पावर बैंक र १० जनालाई स्मार्ट वाच लगायतका प्राविधिक सामग्रीहरू प्रदान गरिने आयोजकले जनाएको छ। पुरस्कारको घोषणा कार्यक्रमको अन्तिममा सोही दिन साँझ गरिनेछ।

बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने यस एक दिने शैक्षिक तथा करियर मेलाले करिब ८ हजार विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष रूपमा जोड्ने अपेक्षा गरिएको छ। कार्यक्रम निर्देशक नवीन कार्कीले भविष्य मेला केवल शैक्षिक प्रदर्शनी मात्र नभई विद्यार्थीहरूको व्यावसायिक र व्यक्तिगत भविष्य निर्माण गर्ने एउटा परिवर्तनकारी मञ्च भएको बताउनुभयो। उहाँका अनुसार यस्ता पुरस्कारको व्यवस्थाले विद्यार्थीहरूमा थप उत्साह र उर्जा प्रदान गर्नेछ।

मेलामा विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा र विभिन्न प्राविधिक विषयहरूमा निःशुल्क करियर काउन्सिलिङ प्रदान गरिनेछ। सहभागी कलेजहरूले विद्यार्थीहरूको क्षमता अनुसार पूर्णदेखि आंशिक छात्रवृत्तिहरूको समेत घोषणा गर्ने तयारी गरेका छन्। मेलामा विद्यार्थीहरूका लागि निःशुल्क डिम्याट खाता, बैंक खाता, आँखा जाँच शिविरका साथै स्टेशनरी किट र शैक्षिक पुस्तकहरू समेत उपलब्ध हुनेछन्।

वीरगन्ज महानगरपालिका, प्याब्सन, एनप्याब्सन, हिसान र वीरगन्ज उद्योग वाणिज्य संघ लगायतका संस्थाहरूको सहकार्यमा हुन लागेको यस मेलाको यो दोस्रो संस्करण हो। गत वर्ष वीरगन्ज टाउन हलमा आयोजित पहिलो संस्करणमा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए भने यस पटक सहभागीको संख्या अझ बढ्ने आयोजकको विश्वास छ। पर्सा, बारा, रौतहट र आसपासका ग्रामीण तथा सहरी क्षेत्रका एसइई दिएका विद्यार्थी र अभिभावकहरूलाई लक्षित गरी यो वृहत् शैक्षिक मेलाको आयोजना गरिएको हो।

पोडकास्ट सुन्नुहोस