वीरगन्ज-
विजय श्रीवास्तवको संयोजकत्वमा ‘वेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्र’ पर्सा गठन गरिएको छ। केन्द्रले शुक्रबार वीरगन्जमा आयोजना गरेको कार्यक्रममा २१ सदस्यीय कार्यसमिति गठन भएको जानकारी गराइएको हो।
केन्द्रका संस्थापक विजय जंग बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवगठित समितिको सचिवमा आरोही श्रीवास्तव, रिंकी कुमारी कुम्हार र प्रेरणा श्रीवास्तव चयन भएका छन्। उप–सचिवमा नारायण श्रीवास्तव, लेखापालमा आराध्या श्रीवास्तव, महिला विभाग प्रमुखमा रिता श्रीवास्तव तथा मिडिया कोअर्डिनेटरमा आराध्य श्रीवास्तव चयन भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक बस्नेतले विगत १६ वर्षमा ७ हजार ७ सय ३८ वटा वेवारिसे शवको सद्गत गरिएको जानकारी दिनुभयो। सडकपेटीमा भेटिने वेवारिसे शवहरूको सम्मानपूर्वक व्यवस्थापन नभएको देखिएपछि काठमाडौँबाट यो अभियान सुरु गरिएको उहाँले बताउनुभयो।
यस कार्यमा हालसम्म व्यक्तिगत रूपमा दुई रोपनी जग्गा बिक्री गरेर लगानी गरिसकेको पनि उहाँले जानकारी दिनुभयो । काठमाडौँ लगायत देशको ५४ जिल्लामा पहिले देखि सेवा दिँदै आएको यो संस्थाले अब पर्सा जिल्लामा भेटिने वेवारिसे शवहरूको सम्मानपूर्वक व्यवस्थापन गर्ने तथा सडकमा भेटिने वेवारिसे व्यक्तिहरूको हेरचाह गर्दै आफन्तसँग पुनर्मिलन गराउने विश्वास व्यक्त गरिएको छ ।













