२०८३ बैशाख ११ गते, शुक्रबार २०:३५

पर्साका जिसस सभापति अजय सोनारविरुद्ध पक्राउ पुर्जी जारी: ‘ज्यान मार्ने उद्योग’ मा फरार सूचीमा, तर सहरमा खुलेआम !

वीरगन्ज –

पर्साको राजनीति र प्रशासनिक वृत्तमा एउटा सनसनीपूर्ण खुलासा भएको छ। जिल्ला समन्वय समिति (जिसस) पर्साका बहालवाला सभापति निरञ्जन प्रसाद सोनार (अजय) सहित एकै परिवारका पाँच जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’ मुद्दामा पक्राउ अनुमति पत्र (पक्राउ पुर्जी) जारी भएको छ।

पर्सा जिल्ला अदालतले मिति २०८३/०१/०७ मा जिल्ला प्रहरी कार्यालय पर्साको नाममा (च.नं. १९४२०) पक्राउ अनुमति पत्र जारी गर्दै निजहरूलाई तत्काल नियन्त्रणमा लिन आदेश दिएको हो। तर, अदालतको आदेश जारी भएको चार दिन बितिसक्दा पनि पहुँच र शक्तिको आडमा अभियुक्तहरू सहरमै ‘खुलेआम’ घुमिरहेको पाइएको छ।

को–को छन् पक्राउ पुर्जीको सूचीमा?

अदालतले सभापति अजय सोनार मात्र नभई उनीसँगै घटनामा संलग्न रहेको आरोप लागेका उनका परिवारका अन्य सदस्यहरूलाई पनि पक्राउ गर्न अनुमति दिएको छ:

१. अजय भन्ने निरञ्जन प्रसाद सोनार (सभापति, जिसस पर्सा)

२. त्रिलोकी साह सोनार (अजयका जेठो दाजु)

३. सन्तोष भन्ने सुमु प्रसाद सोनार (भतिज)

४. उत्तम भन्ने दिवस सराफ (सन्तोषका जेठो छोरा)

५. महेश भन्ने महेश्वर सराफ (अजय का जेठो छोरा )

के हो घटना?

राम बाबु साह सोनारको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी साहिल कुमार सरार्फ (स्वर्णकार) समेत भएको ‘ज्यान मार्ने उद्योग’ मुद्दाको अनुसन्धानका क्रममा उनीहरूको संलग्नता देखिएको हो। अदालतले निजहरूलाई तत्काल पक्राउ नगरे मुद्दाका प्रमाणहरू लोप गर्ने, नष्ट गर्ने वा अभियुक्तहरू भाग्न सक्ने प्रबल सम्भावना रहेको जनाउँदै प्रहरीलाई तुरुन्त एक्सनमा जान निर्देशन दिएको छ।

यस विषयमा बुझ्न सभापति अजय सोनारको मोबाइल नम्बर (९८५१०२१२६६) मा पटक–पटक सम्पर्क गर्दा उनले फोन काट्ने गरेका छन्, जसले उनको संदेहास्पद भूमिकालाई थप पुष्टि गर्छ।

पहुँचको अगाडि कानुन लाचार?

पीडित मिथुन सरार्फका अनुसार अदालतले तीन दिनअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ। तर, जिल्लाको एउटा महत्त्वपूर्ण संवैधानिक पद ओगटेका व्यक्ति र उनका आफन्तहरू राजनीतिक पहुँचको आडमा कानुनलाई चुनौती दिइरहेका छन्।

स्मरण रहोस्, वीरगन्ज १५ भेडियाही बस्ने मिथुन सरार्फले न्यायका लागि उच्च अदालत अस्थायी इजलास वीरगन्जमा निवेदन दिएपछि गत माघ १२ गते परमादेश जारी भएको थियो। सोही आदेशपछि जिल्ला प्रहरी कार्यालय पर्साले चैत १९ गते मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको भए तापनि अभियुक्तहरू पक्राउ नपर्नुले ‘कानुनी राज्य’ को उपहास भएको पीडित पक्षको गुनासो छ। यस बारे जिल्ला प्रहरी कार्यालय पर्सामा बुझदा आफुहरुले निजहरुको खोजतलास गरी रहेको बताएको छ ।

पोडकास्ट सुन्नुहोस