वीरगन्ज-
विगतको निर्वाचनमा व्यहोरेको अनपेक्षित हार र साङ्गठनिक कमजोरीलाई सच्याउँदै नेपाली कांग्रेस पर्साले संगठन सुदृढीकरणका लागि ‘जरा अभियान’ को औपचारिक शुभारम्भ गरेको छ। फागुन २१ गते भएको निर्वाचनको समीक्षा र आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई मध्यनजर गर्दै यो अभियान सुरु गरिएको हो।
पछिल्लो निर्वाचनमा पर्साका चारवटै संसदीय क्षेत्र गुमाएपछि रक्षात्मक अवस्थामा पुगेको कांग्रेसले अब ‘जरा’ अर्थात् गाउँ र टोलस्तरबाटै पार्टीलाई पुनर्जीवित गर्ने रणनीति लिएको छ। अभियानको शुभारम्भ गर्दै नेताहरूले विगतका कमीकमजोरीलाई निर्मम ढङ्गले आत्मसात् गरी अगाडि बढ्नुको विकल्प नभएको बताएका छन्।
नेपाली कांग्रेस पर्साका सचिव एवं वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमका अनुसार यो अभियान जिल्लाका सबै गाउँपालिका, नगरपालिका र महानगरपालिकाका प्रत्येक वडाहरूमा सञ्चालन गरिनेछ। “हामीबाट कहाँ चूक भयो र मतदाताले हामीलाई कहाँ पत्याएनन् भन्ने कुरा अब घरदैलोमै पुगेर बुझ्नेछौँ,” आलमले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्ने वक्ताहरूले विगतका गल्तीलाई ‘जरा’ बाटै सच्याएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। नेताहरूले भनेका छन्, “हामी कहाँ चुक्यो र कहाँ रोकियौँ, त्यसलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्छ। अबको बाटो भनेको सशक्त र एकताबद्ध भएर अगाडि बढ्नु नै हो।”
अभियानको शुभारम्भ कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेताहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला सभापति तथा पूर्व मन्त्री जनार्दन सिंह क्षेत्री, पूर्व मन्त्री रमेश रिजाल, पूर्व मन्त्री सुरेन्द्र चौधरी, पूर्व मन्त्री अजय चौरसिया, जिल्ला सचिव तथा उपप्रमुख इम्तियाज आलम लगायत ठुलो सङ्ख्यामा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
पर्सा कांग्रेसले यो अभियानमार्फत असन्तुष्ट कार्यकर्तालाई फकाउने र आम मतदातासँगको सम्बन्धलाई पुनः नवीकरण गर्ने विश्वास लिएको छ।













