सुर्खेत –
आफ्नै श्रीमतीको निर्मम हत्या गर्ने नेपाली सेनाका एक जवानलाई सुर्खेत जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। सुर्खेत जिल्ला अदालतका न्यायाधीश वसन्तराज जोशीको इजलासले बुधबार पिउठ दर्शन खत्रीलाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो।
अदालतले जन्मकैदको सजायका साथै पीडित पक्षलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ। अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलका अनुसार खत्रीलाई कर्तव्य ज्यान मुद्दामा अभियोग दाबी पुगेको ठहर गरिएको हो।
खत्रीले २०८२ साल वैशाख २१ गते श्रीमती प्रेमा वलीलाई जङ्गलमा लगेर हत्या गरेका थिए। सो घटनापछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो। खत्रीविरुद्ध २०८२ जेठ १६ गते सुर्खेत जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएकोमा करिब एक वर्षपछि अदालतले अन्तिम फैसला गरेको हो।










