वीरगन्ज –
गत निर्वाचनमा रास्वपाले पाएको अप्रत्याशित सफलतापछि आगामी स्थानीय तहको निर्वाचनलाई लिएर वीरगन्जको राजनीति एकाएक तातिएको छ। मधेसको ‘गेट-वे’ मानिने वीरगन्ज महानगरपालिकामा आफूलाई भावी मेयरको दाबेदारका रूपमा उभ्याउँदै दुई प्रभावशाली युवा नेताहरूबीच भित्रभित्रै रोचक प्रतिस्पर्धा सुरु भएको छ।
मैदानमा पुराना खेलाडी सुधिर र नयाँ इन्ट्री तेज शमशेर
लामो समयदेखि वीरगन्जको राजनीतिमा सक्रिय र ठाकुरराम बहुमुखी क्याम्पसबाटै आफ्नो राजनीतिक यात्रा सुरु गरेका सुधिर पटेल र हालै सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा बलियो उपस्थिति जनाएका तेज शमशेर जबरा अहिले चर्चाको केन्द्रमा छन्।
आज तेज शमशेर जबराले रास्वपा सभापति रवि लामिछानेसँग भेट गरी औपचारिक रूपमा पार्टी प्रवेश गरेपछि वीरगन्जको मेयर पदको दाबेदारी थप पेचिलो बनेको हो।
सुधिर पटेल: “पार्टी र जनताको निर्णय नै अन्तिम”
पार्टीभित्र आफ्नो पकड बनाउँदै आएका सुधिर पटेल आफ्नो सक्रियता र अनुभवलाई मुख्य आधार मान्छन्। प्रदेश सभाको निर्वाचनमा सम्मानजनक मत ल्याएका पटेल भन्छन्:
“मैले आफ्नो सक्रिय राजनीति वीरगन्जबाटै सुरु गरेको हुँ। रास्वपा प्रवेश गर्दा निश्चित योजनाका साथ आएको छु र त्यही अनुसार काम गरिरहेको छु। आगामी दिनमा पार्टी र वीरगन्जका मतदाताले जसलाई प्रतिनिधिका रूपमा अघि सार्छन्, त्यसलाई म आत्मसात् गर्नेछु।”
तेज शमशेर जबरा: “मेयरको इच्छा छ, तर सर्त छैन”
सभापति लामिछानेसँगको तस्बिर सामाजिक सञ्जालमा साझा गर्दै पार्टी प्रवेश गरेका तेज शमशेर जबराले आफ्नो दाबेदारीलाई कूटनीतिक रूपमा प्रस्तुत गरेका छन्। उनी भन्छन्:
“मैले कुनै सर्त राखेर पार्टी प्रवेश गरेको होइन। वीरगन्जको मेयरका रूपमा काम गर्ने इच्छा त छ, तर अहिले नै यसै हुन्छ भन्न सकिन्न। मेरो काम र पार्टीप्रतिको योगदानका आधारमा निर्णय हुनेछ। पार्टीले जसलाई रोज्छ, म उसलाई तन-मन-धनले सहयोग गर्न तयार छु।”
कसको पल्ला भारी?
एकातिर सङ्गठन निर्माणमा खटिएका पुराना युवा नेता सुधिर पटेल छन् भने अर्कोतिर सामाजिक छवि र स्वतन्त्र लहरबाट आएका तेज शमशेर जबरा। रास्वपाले वीरगन्जको ‘मेयर टिकट’ कसलाई थमाउला? यो भने आगामी दिनको राजनीतिक जोडघटाउ र स्थानीय कार्यकर्ताको चाहनाले नै तय गर्ने देखिन्छ।
वीरगन्जको यो राजनीतिक ‘सर्मी’ले आगामी स्थानीय तहको निर्वाचन निकै रोचक हुने सङ्केत गरेको छ।










