२०८३ बैशाख २२ गते, मंगलवार ११:२९

रौतहटमा वनमाथि अतिक्रमणको संकट, ३ हजार हेक्टरभन्दा बढी जमिन कब्जामा

रौतहट-

रौतहटमा वन अतिक्रमणको समस्या गम्भीर बन्दै गएको छ। हालसम्म जिल्लामा करिब ३ हजार १९० हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको तथ्य सार्वजनिक भएको छ। तीमध्ये १ हजार ४२५ हेक्टर चुरे क्षेत्र र १ हजार ७४६ हेक्टर भावर तथा तराई क्षेत्र प्रभावित रहेका छन्।

डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहका अनुसार अतिक्रमित क्षेत्रमध्ये व्यवस्थित वनको १ हजार ३२८ हेक्टर, सामुदायिक वनको ७५४ हेक्टर, साझेदारी वनको ९०५ हेक्टर र सागरनाथ वृक्षारोपण क्षेत्रको २०१ हेक्टर जमिन समावेश छ।

अतिक्रमणको चुनौती बढिरहेकै बेला वन व्यवस्थापनतर्फ भने केही सकारात्मक प्रयासहरू पनि देखिएका छन्। आर्थिक वर्ष २०८२/८३ मा दिगो वन व्यवस्थापन कार्यक्रममार्फत विभिन्न सामुदायिक तथा साझेदारी वनबाट करिब ५४ हजार क्युफिट काठ उत्पादन भएको छ।

यस वर्षदेखि चन्द्रपुर क्षेत्रका केही सामुदायिक वनहरूमा दिगो वन व्यवस्थापन कार्यक्रम लागू गरिएको छ। हातेमालो, भोर्लेनी र तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समूह तथा रङ्गपुर साझेदारी वनबाट मात्रै ४३ हजार ७२२ क्युफिट काठ र ८४ चट्टा दाउरा उत्पादन भएको कार्यालयले जनाएको छ।

वन क्षेत्रको दीर्घकालीन संरक्षणका लागि वृक्षारोपण कार्यक्रम पनि तीव्र पारिएको छ। हाल ८० हजार जडीबुटीका बिरुवा, १ लाख ६० हजारभन्दा बढी एकवर्षे र २ लाख बहुवर्षे बिरुवा उत्पादन भइरहेका छन्। साथै, वन पैदावार आपूर्ति समितिमार्फत यस वर्ष १ हजार ४२६ क्युफिट काठ बिक्री गरिएको छ।

रौतहटमा कुल ३० हजार १७७ हेक्टर वन क्षेत्र रहेको छ, जुन जिल्लाको करिब २९ प्रतिशत भूभाग हो। यहाँ ४३ सामुदायिक वन, ३ साझेदारी वन, ४ धार्मिक वन र १ ब्लक फरेस्ट व्यवस्थापन वन रहेका छन्।

प्रमुख साहका अनुसार वन अतिक्रमण नियन्त्रणका लागि आवश्यक कदम चालिँदैछ र राज्यको नीतिअनुसार क्रमशः अतिक्रमित क्षेत्र खाली गराउने प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस