२०८३ बैशाख २३ गते, बुधबार २१:५८

दोहनमा संलग्न १७ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

सुर्खेत –

भेरी नदीको किनारामा अवैध उत्खननको धन्दा चलाइरहेका सवारी साधनमाथि प्रहरीले कडा ‘एक्सन’ लिएको छ। मापदण्डलाई ठाडै चुनौती दिँदै नदी दोहनमा संलग्न १७ वटा सवारी साधन एकैपटक प्रहरीको नियन्त्रणमा परेपछि क्षेत्रमा सनसनी फैलिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीका अनुसार भेरी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा अवैध रूपमा उत्खनन गरिरहेका १२ टिपर, २ ट्याक्टर, २ जेसीभी र १ स्काभेटर पक्राउ गरिएको हो।

भेरीगंगा नगरपालिका र लेकबेँसी नगरपालिकाका विभिन्न क्षेत्रमा ‘मेशिनको गर्जन’सँगै भइरहेको अवैध उत्खननबारे स्थानीय तहबाट सूचना आएपछि प्रहरी टोली तत्काल खटिएको थियो। विशेषगरी भेरीगंगा–१३ को सालटाकुरा र लेकबेँसी–७ को पटारे क्षेत्रमा नदीजन्य सामग्रीको अन्धाधुन्ध दोहन भइरहेको भेटिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रमुख शाहीले स्पष्ट पारे, “कानुनी मापदण्ड मिचेर नदी दोहन गर्नेहरूलाई अब छुट छैन।” नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइने तयारी भइरहेको छ।

यो कारबाहीसँगै भेरी नदी क्षेत्रमा चलिरहेको अवैध उत्खननमाथि कडा सन्देश गएको छ—अब नियम मिच्नेहरूमाथि निगरानी अझै कडा हुने संकेत देखिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस