२०८३ बैशाख २४ गते, बिहीबार १६:४६

वीरगन्ज डिजिटल हब बन्दै: गुगलको साझेदारीमा बहुप्रतिक्षित डेटा सेन्टर स्थापना हुने

वीरगन्ज

नेपालको प्रमुख व्यापारिक नाका र औद्योगिक नगर वीरगन्ज अब सूचना प्रविधिको नक्सामा पनि अग्रपंक्तिमा आउने भएको छ। विश्वकै अग्रणी सूचना प्रविधि कम्पनी गुगलको रणनीतिक साझेदारीमा वीरगन्जमा अत्याधुनिक डेटा सेन्टर स्थापना गरिने भएको हो। यसले वीरगन्जलाई मुलुकको महत्त्वपूर्ण डिजिटल पूर्वाधार केन्द्र (डेटा हब) को रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।

नेपालका प्रतिष्ठित औद्योगिक घरनाहरूको संयुक्त लगानी रहेको ब्लुचीन डेटा भोल्टले गुगल क्लाउडसँगको सहकार्यमा वीरगन्ज र काठमाडौंको चोभारमा यस्तो डेटा सेन्टर निर्माण गर्न लागेको हो। ब्लुचीनले आज एक औपचारिक समारोहबीच यस ऐतिहासिक साझेदारीको घोषणा गर्दैछ। सो घोषणा कार्यक्रममा माइक्रोन र एएमडीजस्ता अन्तर्राष्ट्रिय प्रविधि साझेदारहरूको समेत उपस्थिति रहने बताइएको छ।

वीरगन्जलाई के हुन्छ फाइदा?

वीरगन्जमा स्थापना हुने यो डेटा सेन्टरले स्थानीय स्तरमा सूचना प्रविधिको विकासमा ठूलो टेवा पुग्नेछ। मुख्यगरी:

१. औद्योगिक डिजिटलाइजेसन: वीरगन्ज-पथलैया औद्योगिक कोरिडोरमा रहेका सयौँ उद्योगहरूलाई सुरक्षित र द्रुत डेटा भण्डारण तथा प्रशोधनको सुविधा प्राप्त हुनेछ। यसले उद्योगहरूको कार्यक्षमता बढाउन र डिजिटल रूपान्तरणमा मद्दत गर्नेछ।

२. स्थानीय रोजगारी: डेटा सेन्टरको निर्माण र सञ्चालनका क्रममा सूचना प्रविधि क्षेत्रका इन्जिनियर र प्राविधिकहरूसहित ठूलो संख्यामा स्थानीयले रोजगारीको अवसर पाउनेछन्।

३. प्रविधि हस्तान्तरण: गुगल क्लाउडजस्तो विश्वस्तरीय प्रविधि नेपाल भित्रिँदा नेपाली प्राविधिकहरूले अत्याधुनिक कम्प्युटिङ, डेटा भण्डारण र मेसिन लर्निङजस्ता विधामा सिक्ने अवसर पाउनेछन्।

गुगल र वीवीडीएनको रणनीतिक सहयोग

यो परियोजनाका लागि गुगल क्लाउडले कम्प्युटिङ पूर्वाधार, डेटा स्टोरेज र विश्लेषणका साथै व्यवस्थापन सेवा प्रदान गर्नेछ। यस्तै, ब्लुचीनको अर्को रणनीतिक साझेदारको रूपमा ताइवान आधारित वीवीडीएन टेक्नोलोजी रहेको छ। वीवीडीएनले डेटा सेन्टरका लागि आवश्यक कम्प्युटिङ, लिक्विड कुलिङ सोलुसन र र्‍याकमा आउने समस्या समाधानमा प्राविधिक सहयोग गर्नेछ। वीवीडीएनको अमेरिका, युरोप र एशियाका मुख्य प्रविधि हबहरूमा बलियो उपस्थिति छ।

चोभारमा आगामी अगस्टदेखि नै डेटा सेन्टर सञ्चालनमा ल्याउने तयारी भइरहँदा वीरगञ्जको परियोजनालाई पनि द्रुत गतिमा अघि बढाइएको छ। यसबारे थप जानकारी लिन गुगल र वीवीडीएनका प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्।

सूचना प्रविधिमा लगानीको लहर

नयाँ सरकार बनेपछि र विशेषगरी काठमाडौंमा बालेन शाहको नेतृत्व आएपछि सूचना प्रविधि उद्योगमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। यसअघि फेसबुकको मातृ कम्पनी मेटाले वर्ल्डलिंक कम्युनिकेसनसँगको साझेदारीमा डेटा सेन्टर निर्माणको तयारी गरिरहेको खबर आएको थियो। अहिले गुगलको यो साझेदारीले नेपाललाई अन्तर्राष्ट्रिय प्रविधि जगतमा थप विश्वासिलो गन्तव्यको रूपमा प्रस्तुत गरेको छ। वीरगन्जमा हुने यो लगानीले मुलुकको डिजिटल इकोसिस्टमलाई थप बलियो बनाउने निश्चित छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस