२०८३ बैशाख २४ गते, बिहीबार १६:४६

इरान–अमेरिकाबीच १४ बुँदे सहमति : २ दिनमै युद्ध अन्त्य हुने राष्ट्रपति ट्रम्पको दाबी

काठमाडौं–

अमेरिका र इरानबीच जारी तनाव अन्त्यतर्फ उन्मुख भएको संकेत देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व आगामी ४८ घण्टाभित्रै टुंगिन सक्ने दाबी गरेका छन् ।

ह्वाइट हाउसमा आयोजित कार्यक्रममा उनले पछिल्ला वार्ताहरू सकारात्मक र ऐतिहासिक रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुई देशबीच १४ बुँदे प्रारम्भिक समझदारी तयार भइसकेको छ ।

उक्त मस्यौदाले तत्काल युद्धविरामसँगै दीर्घकालीन आणविक विवाद समाधान गर्ने र होर्मुज जलमार्गको तनाव कम गर्ने लक्ष्य राखेको बताइएको छ ।

सम्झौताअनुसार प्रारम्भमा युद्ध अन्त्य गरिनेछ भने त्यसपछि ३० दिनभित्र तटस्थ स्थानमा विस्तृत वार्ता गर्ने योजना छ ।

इरानले आफ्नो आणविक कार्यक्रम अस्थायी रूपमा रोक्ने सर्तमा सहमति जनाउन सक्ने अनुमान छ, जसको बदलामा अमेरिकाले प्रतिबन्ध खुकुलो पार्ने र रोकिएको सम्पत्ति फुकुवा गर्ने बताइएको छ ।

तर, मुख्य विवाद आणविक कार्यक्रम स्थगनको अवधिबारे देखिएको छ ।

अमेरिका दीर्घकालीन ग्यारेन्टी चाहन्छ भने इरान छोटो समयसीमामा अडिग छ ।

हाल १२ देखि १५ वर्षको मध्यमार्गी विकल्पबारे छलफल भइरहेको छ ।

यता, ट्रम्पले सम्झौता असफल भएमा सैन्य कारबाही बढाउने चेतावनी दिएका छन् ।

उनले अमेरिकी नौसेनाको तयारीलाई स्टिलको पर्खाल भन्दै इरानलाई कडा सन्देश दिएका छन् ।

तर, तेहरानले भने सम्झौताका दाबीहरूलाई अतिरञ्जित भनेको छ ।

इरानी अधिकारीहरूले अमेरिकी प्रस्तावलाई एकपक्षीय सूची भन्दै अस्वीकारको संकेत गरेका छन् ।

चीनको भूमिका पनि यसैबीच महत्त्वपूर्ण बनेको छ भने पाकिस्तानलाई मध्यस्थताको सम्भावित केन्द्रका रूपमा हेरिएको छ ।

वार्ता सफल भए मध्यपूर्वमा दशककै ठूलो कूटनीतिक उपलब्धि मानिनेछ, असफल भए क्षेत्र पुनः ठूलो सैन्य तनावतर्फ धकेलिन सक्ने विश्लेषण गरिएको छ ।

साथै, वार्ता पुनः सुरु हुने खबरसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस