२०८३ असार १४ गते, आईतवार १६:२६

नेकपा नेता मनोज चौधरी धरौटीमा रिहा, उच्च अदालतको आदेश

वीरगन्ज-

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा नेता मनोज चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

पर्सा जिल्ला अदालतले गत चैत १२ गते चौधरीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशलाई बदर गर्दै उच्च अदालतले २ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको हो।

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका सूचना अधिकारी ध्रुव सुबेदीका अनुसार, बिहीबार न्यायाधीश गोकर्ण डाँगी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले सो आदेश जारी गरेको हो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट नेकपाका उम्मेदवार समेत रहेका चौधरीलाई प्रहरीले निर्वाचनभन्दा ठिक दुई दिनअघि, फागुन १९ गते पक्राउ गरेको थियो। उनी सवार गाडीबाट विष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद वस्तु फेला परेको आरोप उनीमाथि लगाइएको थियो। उनी हाल वीरगन्ज कारागारमा पुर्पक्षका लागि थुनामा थिए।

चौधरी पक्षले जिल्ला अदालतको आदेशमा चित नबुझेको भन्दै उच्च अदालतमा निवेदन दिएको थियो। उच्च अदालतमा चौधरीको तर्फबाट अधिवक्ताहरू रामचन्द्र सिंह र सुधिरकुमार कर्णले बहस गरेका थिए भने सरकारको तर्फबाट उपन्यायाधिवक्ता बुधिलाल श्रेष्ठले बहस गरेका थिए।

त्यस्तै, सोही मुद्दाका अन्य प्रतिवादीहरू सत्यनारायण दास थारु र सुरज कार्कीको हकमा भने पर्सा जिल्ला अदालतकै आदेश सदर भएको छ। पर्सा जिल्ला अदालतले फागुन १२ गते चौधरीसँगै पक्राउ परेका थारु, कार्की र सवारी चालक सहाब आलम अन्सारीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस