धनुषाधाम-
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ७ किसानपुरमा एक महिला र उनका डेढ वर्षीय छोरा मृत अवस्थामा फेला परेका छन्।
किसानपुरकी २३ वर्षीया बबिता साह झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता प्रहरी उपरीक्षक गणेशबहादुर बमका अनुसार, उनका १८ महिने छोरा आरभ साह पूजा कोठामा मृत अवस्थामा फेला परेका छन्।
स्थानीय बासिन्दाका अनुसार मृतक बबिताका श्रीमान वैदेशिक रोजगारीमा छन्। उनी केही समयअघि मात्र घर आएका थिए र २० दिनअघि पुनः विदेश फर्किएका थिए। श्रीमान विदेश फर्किएको केही समयमै यो दुखद घटना घटेको हो।
घटनाको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय, धनुषाधामबाट प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएको छ र शवलाई पोस्टमार्टमका लागि पठाइएको छ।
घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता बमले जानकारी दिएका छन्। आमाले छोराको हत्या गरी आत्महत्या गरेको हो वा अन्य कुनै कारण हो भन्ने विषयमा प्रहरीले सुक्ष्म अध्ययन गरिरहेको छ।











