काठमाडौँ –
सामरिक रूपमा अत्यन्तै संवेदनशील मानिने होर्मुज स्ट्रेटमा अमेरिका र इरानका सेनाबिच भीषण गोलाबारी भएपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ। केही हप्तादेखि कायम रहेको युद्धविराम भङ्ग गर्दै दुई शक्ति राष्ट्रबिच फेरि सैन्य टकराव सुरु भएपछि एसियाली बजारमा आज (शुक्रबार) बिहानैदेखि तेलको मूल्य बढेको हो।
होर्मुज स्ट्रेटको तनावका कारण विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य २.६ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.७० डलर पुगेको छ। त्यसैगरी, अमेरिकी कच्चा तेलको मूल्यमा पनि २.३ प्रतिशतको वृद्धि भई प्रतिब्यारेल ९७ डलर पुगेको बिबिसीले जनाएको छ। विश्वभर आपूर्ति हुने तेलको ठुलो हिस्सा यही जलमार्ग भएर जाने भएकाले थप मूल्य वृद्धि हुने र आपूर्ति शृङ्खला प्रभावित हुने खतरा बढेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले बिनाकारण अमेरिकी जहाजहरूमाथि हमला गरेको आरोप लगाएका छन्। राष्ट्रपति ट्रम्पका अनुसार, इरानले अमेरिकी तीनवटा विध्वंसक जहाज (Destroyers) लाई निशाना बनाएको थियो, जसलाई अमेरिकी सेनाले सफलतापूर्वक विफल तुल्याइदिएको छ।
“अमेरिकी जहाजहरू कुनै क्षतिबिना होर्मुजबाट निस्कन सफल भएका छन्,” ट्रम्पले भने, “हाम्रो प्रतिआक्रमणमा इरानका धेरै साना डुङ्गाहरू पूर्ण रूपमा नष्ट भएका छन् र उनीहरूले प्रहार गरेका मिसाइलहरू सजिलै खसालियो।”
अर्कातर्फ, इरानी सेनाले भने अमेरिकाले नै युद्धविरामको उल्लङ्घन गरेको दाबी गरेको छ। इरानले अमेरिकी दाबीको खण्डन गर्दै आफ्नो क्षेत्रमा भएको हस्तक्षेपको कडा जवाफ दिने चेतावनी दिएको छ। इरानी अधिकारीहरूले यो घटनाले क्षेत्रमा फेरि युद्धको खतरा निम्त्याएको बताएका छन्।
केही हप्ताअघि मात्रै दुई देशबिच युद्धविरामको सहमति भएको थियो। तर शुक्रबार बिहानको यो घटनाले सो सहमतिको अन्त्य गरिदिएको छ। होर्मुज स्ट्रेटमा हुने तनावले खाडी क्षेत्र मात्र नभई विश्व अर्थतन्त्रमै नकारात्मक असर पार्ने देखिएपछि अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरेका छन्।












