२०८३ बैशाख २५ गते, शुक्रबार २०:४६

सरकारको ‘डोजर आतङ्क’ विरुद्ध प्रतिवादमा उत्रिन गगन थापाको निर्देशन: ‘यति क्रुर शासक यसअघि देखेको थिइनँ’

काठमाडौँ-

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्बासी बस्तीमाथि सरकारले बर्बरतापूर्वक हमला गरेको भन्दै त्यसको कडा प्रतिवाद गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। शुक्रबार सानेपास्थित पार्टी मुख्यालयमा आयोजित ‘नेपालमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको अवस्था: डोजर आतङ्क र सुकुम्बासी पीडा’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो।

सरकारको क्रुरतामाथि आक्रोश

सभापति थापाले वर्तमान सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई पीडा दिँदा पनि ‘कम्फर्टेबल’ महसुस गरिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो। “अहिले सत्तामा बसिरहनुभएका साथीहरूको जुन क्रुरता र बर्बरता छ, यो देख्दा अचम्म लाग्छ,” थापाले भन्नुभयो, “राज्य सञ्चालन गर्दा शासकमा करुणा हुनुपर्छ, तर यहाँ त जति बर्बर भए पनि हुन्छ भन्ने सोच हाबी भएको छ। यस्तो शासक मैले यसअघि देखेको थिइनँ।”

संसद् र स्थानीय तहमा प्रतिवाद गर्न आह्वान

सभापति थापाले कांग्रेसका तर्फबाट निर्वाचित सङ्घीय सांसद, प्रदेश सभा सदस्य र स्थानीय तहका प्रतिनिधिहरूलाई सरकारको यो कदमको डटेर सामना गर्न सचेत गराउनुभयो। उहाँले सुकुम्बासीका पीडा, तथ्य र प्रमाणहरू संकलन गरेर संसद् (पार्लियामेन्ट) मा सशक्त आवाज उठाउन सांसदहरूलाई आग्रह गर्नुभयो।

“हामी सङ्घमा प्रतिपक्षमा छौँ, सरकारको यो गलत शैलीलाई चिर्ने काम हाम्रो हो,” उहाँले भन्नुभयो, “कानुन कार्यान्वयन गर्दा बल प्रयोगलाई अन्तिम हतियार बनाइनुपर्छ र नागरिकको आधारभूत कुराहरूलाई ध्यान दिनुपर्छ। तर सरकारले नागरिकको पीडालाई पूर्ण रूपमा बेवास्ता गरेको छ।”

काँग्रेस नेतृत्वको सरकारलाई पनि सचेत

सभापति थापाले नेपाली कांग्रेसले नेतृत्व गरिरहेका प्रदेश र स्थानीय सरकारहरूलाई पनि सुकुम्बासीको पक्षमा काम गर्न र उनीहरूको समस्या समाधानतर्फ केन्द्रित हुन निर्देशन दिनुभएको छ। डोजर चलाएर समस्या समाधान नहुने भन्दै उहाँले मानवीय संवेदना र कानुनी प्रक्रियालाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया

सरकारको ‘डोजर आतङ्क’ विरुद्ध प्रतिवादमा उत्रिन गगन थापाको निर्देशन: ‘यति क्रुर शासक यसअघि देखेको थिइनँ’

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्बासी

सरकारको ‘डोजर आतङ्क’ विरुद्ध प्रतिवादमा उत्रिन गगन थापाको निर्देशन: ‘यति क्रुर शासक यसअघि देखेको थिइनँ’

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्बासी

पोडकास्ट सुन्नुहोस