२०८३ बैशाख २६ गते, शनिबार १४:५५

रुस र युक्रेनबिच तीन दिनको युद्ध विरामपछि ट्रम्पले भने : युद्ध अन्त्यको सुरुवात भयो

एजेन्सी –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिच तीन दिनका लागि युद्धविराम घोषणा गरेका छन्। युद्धविराम मे ९ देखि ११ सम्म रहने उनले जनाएका छन् ।

‘म यो घोषणा गर्न पाउँदा खुसी छु । रुस र युक्रेनबिच मे ९, १० र ११ तीन दिन युद्धविराम हुनेछ। रुसले विजय दिवस मनाउँदै छ र युक्रेनले पनि मनाउँदै छ, किनकि उनीहरू पनि दोस्रो विश्वयुद्धका हिस्सा हुन्,’ ट्रम्पले सामाजिक संजालमा लेखेका छन् ।

ट्रम्पले युद्धविराम अवधिमा दुई देशबिच हजार कैदी आदानप्रदान गरिने पनि जानकारी दिएका छन् । ‘युद्धविराममा लडाइँका सबै गतिविधि रोक्ने र दुवै देशका हजार कैदी आदानप्रदान हुनेछ। मेरो अनुरोध स्वीकार गरेकामा म राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभारी छु,’ उनले लेखेका छन् ।

ट्रम्पले यो युद्धविराम लामो, घातक र कठिन युद्ध अन्त्यको सुरुवात हुने विश्वास पनि व्यक्त गवरेका छन्।
दुई देशबीचको युद्धलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो द्वन्द्व भएको र यसलाई अन्त्य गर्न वार्ता जारी रहेको उनले जनाएका छन् । उनले युद्धको अन्त्यको सुरुवात भएको पनि औंल्याएका छन् ।

उनले हाल युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने उद्देश्यले छलफलहरू भइरहेको पनि जनाएका छन् । दोस्रो विश्वयुद्धमा तत्कालीन सोभियत संघले नाजी जर्मनीमाथि विजय हासिल गरेको सम्झनामा वार्षिक रूपमा मे ९ लाई विशेष रुपमा मनाउने गरेको छ ।

यो दिन युद्धको क्रममा गुमाएका लाखौं सोभियत जीवनको सम्झनामा मनाइन्छ । त्यो दिन सैन्य परेडहरू साथै सैन्य पराक्रम प्रदर्शन गर्ने गरिन्छ ।

यद्यपि, यस वर्ष, रेड स्क्वायरमा हुने परेड चलिरहेको युद्धका कारण पछि सारिएको छ।
रूसी रक्षा मन्त्रालयले गत महिना टेलिग्राममा एक विज्ञप्तिमा भनेको थियो कि मस्कोमा २०२६ को विजय दिवस परेडमा रूसका सैन्य एकेडेमीका सैनिकहरू र रेड स्क्वायरमा हवाई प्रदर्शनहरू हुनेछन्।

यद्यपि, हालको सञ्चालन अवस्थाका कारण क्याडेटहरू र सैन्य हार्डवेयर स्तम्भहरूले यस वर्ष भाग लिने छैनन्। (एएनआइ)

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस