काठमाडौँ-
इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा चक्कामा आगलागी भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही बेर तनावपूर्ण स्थिति सिर्जना भएको छ। यद्यपि, विमानस्थलको आपत्कालीन टोलीको सक्रियताले ठूलो दुर्घटना टरेको छ र सबै यात्रुहरू सुरक्षित रहेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार आज (सोमबार) बिहान करिब पौने ७ बजे इस्तानबुल-काठमाडौँ उडानको ‘टिके ७२६’ (TK726) विमान अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो। विमान धावनमार्गमै रोकिएपछि तत्कालै विमानस्थलको दमकल, आपत्कालीन उद्धार टोली र सुरक्षाकर्मीहरू परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो।

विमानमा चार बालबालिकासहित जम्मा २७७ जना यात्रु सवार थिए। आगलागी लगत्तै विमानको आपत्कालीन ढोका (Emergency Exit) खोलेर सबै यात्रुहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो। घटनामा कुनै पनि मानवीय क्षति भएको छैन र सबै यात्रुहरू सकुशल रहेका छन्।
विमान धावनमार्गमै रोकिएका कारण विमानस्थलको उडान तथा अवतरण केही समयका लागि पूर्ण रूपमा अवरुद्ध बनेको थियो। यसबाट विशेषगरी ठुला अन्तर्राष्ट्रिय जहाजहरूको नियमित तालिका प्रभावित भएको थियो।
प्राधिकरण, विमानस्थल सञ्चालन विभाग र सुरक्षा निकायको तीव्र समन्वयमा विमानलाई धावनमार्गबाट हटाएपछि अहिले विमानस्थलको सेवा पुनः सुचारु भएको छ। विमानस्थल स्रोतका अनुसार अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू क्रमिक रूपमा नियमित हुन थालेका छन्।











