काठमाडौँ, २८ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले लिपुलेक क्षेत्रलाई भारतले नाका सञ्चालनका रूपमा प्रयोग गरिरहँदा नेपाल सरकारको मौनतामाथि तीखो प्रश्न उठाएका छन् ।
साम्पाङले सरकारलाई सीधै चुनौती दिँदै भने, “लिपुलेकमा भारतले नाका खोलेर चलाइराख्दा सरकार किन मौन छ? किन कूटनीतिक वार्ता अघि बढाउन सकेन? हस्ताक्षरबिना कूटनीतिक नोटमै किन लुकेर बसेको हो यो सरकार?”
उनले सीमा सुरक्षामा सरकारको दोहोरो भूमिकामाथि पनि प्रश्न उठाए । “नेपाली सेनालाई सीमा रक्षा गर्न पठाइयो कि सुकुम्बासी बस्ती हटाउन प्रयोग गरियो?” भन्दै उनले राज्यको प्राथमिकतामाथि नै प्रश्न गरे । उनका अनुसार सीमा जोगाउन असफल हुने सरकार, उल्टै कमजोर नागरिक बस्तीमा बल प्रयोग गर्न अग्रसर देखिएको छ ।
साम्पाङले सरकारलाई “असफलताको दिशामा अघि बढिरहेको सत्ता” भन्दै कडा टिप्पणी गरे । नागरिकको आवास अधिकारसमेत राज्यबाटै उल्लंघन भइरहेको उनको आरोप छ ।
संसद छलेर अध्यादेश ल्याउने प्रवृत्तिको पनि उनले खुलेर विरोध गरे । “यो सरकारलाई लोकतन्त्रको सम्झना गराउनुपर्ने अवस्था आएको छ,” उनले भने, “नागरिक सर्वोच्चता संसदबाट स्थापित हुन्छ, संसद् छल्नु भनेको जनमत र लोकतन्त्र दुवैलाई अस्वीकार गर्नु हो।”
संवैधानिक परिषद्को निर्णय प्रक्रियामाथि पनि उनले प्रश्न उठाउँदै “६ सदस्यीय परिषद्मा ३ जनाको बहुमत कसरी मान्य हुन्छ?” भन्दै जवाफ मागे ।
त्यस्तै, बजेट निर्माण प्रक्रियामा प्रतिपक्षसँग सहकार्य गर्नुपर्ने उनको सुझाव थियो । भन्सार नीति र तस्करी नियन्त्रणमा सरकार कमजोर देखिएको भन्दै उनले व्यंग्य गरे, “१०० रुपैयाँमा समेत भन्सार उठाउने सरकारले चोरी पैठारी रोक्न किन सकेको छैन?”
साम्पाङको यी अभिव्यक्तिले संसद र राजनीतिक वृत्तमा नयाँ बहस सुरु गरिदिएको छ, जहाँ सरकारको कूटनीति, सीमा सुरक्षा र शासन शैली फेरि एकपटक कठघरामा उभिएको छ ।












