२०८३ बैशाख २८ गते, सोमबार १६:४३

विक्रम पाण्डेविरुद्ध सीआईबीको राय उल्ट्याएर अभियोगपत्र दायर, ‘सङ्गठित कसुर’ हटाइयो

काठमाडौँ –

पूर्वमन्त्री विक्रम पाण्डेविरुद्धको मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दिएको प्रारम्भिक रायभन्दा फरक ढंगले अभियोगपत्र दायर गरिएको खुलेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट ह्याक गरेर ठेक्का विवरण हेरफेर गरिएको संवेदनशील घटनामा सीआईबीले पाण्डे विरुद्ध विद्युतीय कारोबार ऐनका दफा ४५ र ४६ का साथै सङ्गठित अपराध निवारण ऐन २०७० को दफा ३ समेत लागू हुने गरी मुद्दा चलाउन सुझाव दिएको थियो ।

तर काठमाडौँ जिल्ला अदालतमा वैशाख २५ गते दायर गरिएको अभियोगपत्रमा सङ्गठित अपराधको दफा भने पूर्ण रूपमा हटाइएको छ । अभियोगपत्रमा पाण्डे विरुद्ध केवल विद्युतीय कारोबार ऐन २०६३ का दफा ४५ र ४६ अनुसार मात्र सजाय माग गरिएको छ ।

कालिका कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका पाण्डेले टेन्डर प्रक्रिया चलिरहेको समयभन्दा पछि आफ्नो फर्मको वित्तीय विवरण सच्याएर ६७ करोडको लागतलाई ६० करोडमा झारेको आरोप छ । यही हेरफेरमार्फत ठेक्का ‘कब्जा’ गरिएको अनुसन्धानले देखाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पनि आशिष निर्माण सेवाका ऋषिकेश गौलीको मुद्दामा सङ्गठित अपराधको दफा हटाएर अभियोगपत्र दायर गरेको छ । कानुनी रूपमा सङ्गठित अपराधमा दोषी ठहर भए थप कडा सजाय हुने व्यवस्था भए पनि त्यस दफालाई हटाइनुले प्रश्न उठाएको छ ।

सीआईबीको अनुसन्धान अनुसार पक्राउ परेका १२ जना र फरार रहेका अन्य प्रतिवादीविरुद्ध सङ्गठित अपराध, विद्युतीय कारोबार तथा अभौतिक मुद्राको कारोबारसमेतको आरोप लगाउनुपर्ने राय दिइएको थियो ।

यस घटनाको मुख्य योजनाकारका रूपमा सहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटामा कार्यरत नायब सुब्बा दिवाकर देउजा देखिएका छन् । उनले ठेक्का विवरण हेरफेर गरी रकम मिलाइदिने र त्यसबापत रकम असुल्ने गरेको अभियोगपत्रमै उल्लेख छ ।

धनकुटाको पाख्रीबास गाउँपालिका–५ निवासी ३३ वर्षीय देउजा यसअघि पनि २०७७ मा टेलिकमको सर्भर ह्याक गरेर टपअप प्रणालीमार्फत रकम हिनामिना गरेको आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् ।

यसपटक उनी पुनः त्यही शैलीमा सक्रिय भएको अनुसन्धानले देखाएको छ । देउजाले ठेक्का विवरण हेरफेर गरेपछि निर्माण कम्पनीहरूसँग भर्चुअल मुद्रा लिने गरेको समेत भेटिएको छ । प्रहरीका अनुसार उनको क्रिप्टो वालेटमा करिब २० हजार बराबरको डिजिटल सम्पत्ति फेला परेको छ ।

उनलाई अभौतिक मुद्राको कारोबारसम्बन्धी कसुरमा पनि अभियोग लगाइएको छ । तर बयानमा भने देउजाले क्रिप्टो कारोबारमा आफ्नो संलग्नता अस्वीकार गर्दै भनेका छन्,
“म क्रिप्टो करेन्सीको कारोबार र माइनिङ गर्दिनँ।”

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस