२०८३ बैशाख २८ गते, सोमबार २१:१९

२१ वर्षदेखि फरार सवारी ज्यान मुद्दाका प्रतिवादी पक्राउ

वीरगन्ज-

सवारी ज्यान मुद्दामा २१ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका वडा नं. ५ पञ्चरुखी बस्ने ४७ वर्षीय दिनेश प्रसाद यादव रहेका छन्।

प्रहरीका अनुसार वि.सं. २०६२ साल मंसिर १५ गते दिउँसो ३:०० बजेको समयमा वीरगन्ज उप-महानगरपालिका (हाल महानगरपालिका) वडा नं. १४ चिनीमिल आवास क्षेत्र अगाडि सडकखण्डमा दुर्घटना भएको थियो। यादवले चलाएको ना. ३ प ६३६२ नम्बरको मोटरसाइकलले पैदल यात्री बाराको जितपुर सिमरा उप-महानगरपालिका वडा नं. २० बस्ने ६५ वर्षीय कालिका सिंह राजपुतलाई ठक्कर दिएको थियो।

ठक्करपछि गम्भीर घाइते भएका राजपुतलाई उपचारका लागि ललितपुरस्थित बी.एण्ड.बी अस्पताल पठाइएकोमा सोही वर्षको मंसिर २६ गते चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। दुर्घटनापश्चात् मोटरसाइकल घटनास्थलमै छाडी चालक यादव फरार भएका थिए।

यसरी भए पक्राउ

विगत २१ वर्षदेखि लुकिछिपी बस्दै आएका यादवलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले सोमबारबिहान ८:०० बजे उनकै घर ठेगानाबाट पक्राउ गरेको हो।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई सवारी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिनुभयो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस