२०८३ जेष्ठ २ गते, शनिबार ११:०८

‘फ्लोर क्रस’ को त्रासपछि मधेशका मुख्यमन्त्री यादव पछि हटे, विश्वासको मत जेठ ८ गते मात्रै लिने

जनकपुरधाम-

सत्तारुढ दल नेपाली कांग्रेसभित्रैबाट ‘फ्लोर क्रस’ हुने र सत्ता साझेदार दलहरूले साथ छाड्ने निश्चित देखेपछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार लिने भनिएको विश्वासको मत थाती राखेका छन् । अन्तिम समयमा कार्यसूची परिवर्तन गर्दै अब मुख्यमन्त्री यादवले आगामी जेठ ८ गते मात्रै विश्वासको मत लिने तय भएको छ ।

जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । सोहीअनुरूप शुक्रबार बिहान ११ बजे प्रदेश सभाको बैठक र विश्वासको मत लिने कार्यतालिका निश्चित गरिएको थियो । तर, आफ्नै दल नेपाली कांग्रेसका करिब ६ जना प्रदेश सांसदले मुख्यमन्त्रीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै मत नदिने चेतावनी दिएपछि सत्तापक्ष झस्किएको हो ।

कांग्रेसभित्रको विवाद र सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालले समेत असन्तुष्टि पोखेपछि बिहान ११ बजे बस्ने भनिएको बैठक झन्डै चार घण्टा ढिलो गरी सुरु भएको थियो । सरकारमाथि संकट मडारिएपछि मुख्यमन्त्री यादवले दिनभर आफ्नै दलका असन्तुष्ट पक्ष, सत्ता गठबन्धन र प्रतिपक्षी नेताहरूसँग लगातार छलफल गरेका थिए । अन्ततः कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति गराई संसद्को कार्यसूची परिवर्तन गरिएको थियो । शुक्रबार सातौँ अधिवेशनको प्रथम बैठक भएकाले केवल शुभकामना मन्तव्य राखेर बैठक जेठ ८ गतेसम्मका लागि स्थगित गर्ने निर्णय प्रदेश सभा सचिवालयले गरेको छ ।

यसअघि सरकारबाट बाहिरिएको जनमत पार्टीले भने सभामुख राम अशिष यादवले ‘छापामार शैली’ मा नियमावलीविपरीत कार्यसूची हेरफेर गरेको भन्दै कडा आपत्ति जनाएको छ । जनमतका प्रदेश सांसद सञ्जयकुमार यादवले कुन कानुनमा टेकेर कार्यसूची परिवर्तन गरियो भन्दै सभामुखमाथि प्रश्न उठाएका छन् ।

जनमतमा ‘कुर्सी मोह’

सरकारबाट समर्थन फिर्ता लिएको जनमत पार्टीका मन्त्रीहरूमा भने अझै कुर्सी मोह देखिएको छ । जनमतबाट अर्थमन्त्री बनेका महेशप्रसाद यादव र खेलकुद तथा समाज कल्याण मन्त्री बसन्तकुमार कुशवाहाले पदबाट राजीनामा दिने बताइए पनि शुक्रबार संसद्मा अनौठो दृश्य देखियो । राजीनामा दिने भनिएका अर्थमन्त्री यादव बैठकमा उपस्थित नै भएनन् भने खेलकुदमन्त्री कुशवाहा संसद् आएर पनि प्रतिपक्षी बेन्चमा जनमतका सांसदहरूसँगै बसे, तर राजीनामा दिएनन् ।

जसपा नेपालभित्र पनि खटपट

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालको एकीकरणपछि बनेको नयाँ ‘जसपा नेपाल’ भित्र पनि संसदीय दलको नेता को बन्ने भन्नेमा लफडा सुरु भएको छ । साविक लोसपाका नेता जितेन्द्र सोनलले आफू पनि संसदीय दलको नेता रहेको दाबी गर्दै सभामुखसँग सोहीअनुसारको कुर्सी व्यवस्था गर्न माग गरेपछि संसद्मा केही बेर अन्योल छाएको थियो । जसपा नेपालभित्रको यही आन्तरिक खटपटका कारण एक पक्षले मुख्यमन्त्रीलाई मत नदिने अडान राखेपछि सभामुखलाई परिस्थिति नियन्त्रणमा लिन निकै कठिनाइ भएको थियो ।

यद्यपि, जसपा नेपालका प्रदेश सांसद एवं पूर्वमुख्यमन्त्री लालबाबु राउतले भने आफूहरू वर्तमान सरकारकै पक्षमा रहेको र तत्काल सरकार फेरबदलको खेलमा नरहेको प्रस्टीकरण दिएका छन् । जसपा र कांग्रेसभित्रको असन्तुष्टि तत्कालका लागि साम्य पारिए पनि शुक्रबार विश्वासको मत लिने माहोल नबनेपछि मुख्यमन्त्री यादवले आगामी जेठ ८ गतेसम्मका लागि समय थपेर सरकार टिकायका छन् ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस