२०८३ जेष्ठ २ गते, शनिबार १२:४२

इँटा भट्टामा पुरिएर तीन मजदुरको मृत्यु ,दुई जना गम्भिर घाइते

सर्लाही

सर्लाहीको एक इँटा भट्टामा शुक्रबार साँझ भएको दर्दनाक दुर्घटनामा तीन जना मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

हरिपुर नगरपालिका–५ मजुर्बास्थित कृष्ण इँटा भट्टामा इँटा निकाल्ने क्रममा अचानक माटो र इँटाको ठूलो थुप्रो खस्दा मजदुरहरू पुरिएका थिए ।

दुर्घटनामा गोडैता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत तथा भारतको लखेमपुर निवासी ३५ वर्षीय अंगद कुमारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार दुर्घटनामा मलङ्गवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन् । घाइतेमध्ये तुलसीको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ भने सत्यनारायणको मजुर्बास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कौडेना गाउँपालिकाका वीरेन्द्र चौधरीले सञ्चालन गर्दै आएको उक्त इँटा भट्टामा दुर्घटना भएको हो ।

घटनापछि इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको डीएसपी राईले जानकारी दिए ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस