बीरगन्ज-
उच्च अदालत बीरगन्ज इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीले मिडियाको अभावमा मुलुकमा शान्ति बहाल हुन नसक्ने बताउनुभएको छ । क्रियाशील युवा पत्रकार मञ्च पर्साको दोस्रो साधारण सभाको बीरगन्जमा उद्घाटन गर्दै मुख्य न्यायाधीश डाँगीले सो कुरा बताउनुभएको हो ।
मिडियाको अभावमा न्यायालयको समेत शुद्धीकरण हुन नसक्ने चर्चा गर्दै उहाँले मिडिया बिना सरकारले समेत आँखा देख्न नसक्ने टिप्पणी गर्नुभयो । मुलुकमा भएका हरेक ऐतिहासिक परिवर्तनहरू ०४६, ०६२/०६३ र त्यसपछिका आन्दोलनहरूमा मिडियाले नागरिक आवाजको प्रतिनिधित्व गर्दै महत्वपूर्ण योगदान दिएको उहाँले स्मरण गराउनुभयो । मुख्य न्यायाधीश डाँगीले आजको पत्रकारिताले बदलिँदो युगसँगै आर्थिक र प्रविधिको क्षेत्रमा आएका चुनौतीहरूको सामना गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । मन्त्रिपरिषद्को गत चैत १८ गतेको परिपत्रका कारण नेपाली सञ्चार जगत्मा उत्पन्न समस्याप्रति चर्चा गर्दै उहाँले राज्यका तीनै अङ्गलाई बाटो देखाउन सक्ने पत्रकारका मागलाई सरकारले सम्बोधन गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी. लामिछानेले सरकार सञ्चालनमा रहेकाहरू सञ्चार क्षेत्रलाई कमजोर बनाएर ‘सफ्ट कन्ट्रोल’ गर्ने दिशामा अघि बढेको आरोप लगाउनुभयो । सरकारी सूचना र विज्ञापनमा नियन्त्रण गरेर ‘क्रिटिकल मिडिया’ लाई दबाबमा राख्न खोजिएको भन्दै उहाँले निजी तथा सामुदायिक सञ्चार संस्थालाई वञ्चित गरेर सरकारले संघीय अभ्यासको खिल्ली उडाएको दाबी गर्नुभयो । उहाँले पत्रकारसँग कानुनी शक्ति नभए पनि नागरिकको विश्वास नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै चैत १८ को पत्र फिर्ता लिन माग गर्नुभयो ।
नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले नेपाली सञ्चार जगत्ले ब्यहोर्नु परेको समस्या हल गर्न सम्पूर्ण पत्रकार एक हुनुपर्ने भन्दै पेसागत शुद्धतामा ध्यान दिन अपिल गर्नुभयो । बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले मुलुकको आर्थिक सूचक ठीक नभएको भन्दै पत्रकारहरूले ब्यहोर्नु परेको आर्थिक संकट र उनीहरूले गरिरहेको आन्दोलनप्रति निजी क्षेत्रको ऐक्यबद्धता रहेको स्पष्ट पार्नुभयो ।
मञ्चका अध्यक्ष प्रणय कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य डा. सुबोध गुप्ता, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान,हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियार, प्रेस सेन्टर मधेशका अध्यक्ष नीरज पिठाकोटे, समाजवादी प्रेस संगठनका मधेश अध्यक्ष मनोज पटेल, नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष अशोक वैद्य लगायतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा मञ्चद्वारा प्रकाशित स्मारिकाको संयुक्त रूपमा विमोचन गरिएको थियो । आफ्नो वार्षिकोत्सवका अवसरमा मञ्चले डा. दीपक शाक्य, के.सी. लामिछाने, श्याम बन्जारा, खड्क बहादुर श्रेष्ठ (गोविन्द प्रताप), कुवेर चन्द्र गौतम, हरि गौतम, नन्द किशोर गोयल र प्रशान्त कुमार साह लगायतलाई सम्मान गरेको थियो । त्यस्तै, मञ्चले आफ्ना संस्थापक सदस्य स्वर्गीय नरेश सर्राफकी छोरीलाई सम्मान पत्रसहित नगद राशि सहयोग गरेको थियो । कार्यक्रमको सञ्चालन महासचिव वीरेन्द्र साह र स्वागत आनन्द पटेलले गर्नुभएको थियो ।









