२०८३ जेष्ठ ३ गते, आईतवार १३:४८

सवारी दुर्घटना न्युन गर्न वीरगन्जमा युवाहरुको अभियान

वीरगन्ज-

वीरगन्जमा सवारी दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै युवा, प्रहरी र ट्राफिक निकायको सक्रिय सहभागितामा व्यापक सचेतना कार्यक्रम सम्पन्न भएको छ। विश्व सडक सुरक्षा सप्ताह २०२६ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमले स्थानीय स्तरमा सडक सुरक्षा प्रति जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

वीरगन्ज युवा समाज को आयोजनामा तथा जिल्ला ट्राफिक कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ता को सहकार्यमा आयोजित कार्यक्रम “दुर्घटना न्यूनीकरण हामी सबैको सहभागिता र प्रतिबद्धता” भन्ने मूल नारासहित सम्पन्न भएको हो।

कार्यक्रम अन्तर्गत माइस्थान प्राङ्गणबाट सचेतना र्‍याली निकालिएको थियो। विभिन्न नारा अंकित प्लेकार्डसहितको र्‍याली मेनरोड हुँदै घण्टाघर क्षेत्रमा पुगेर सम्पन्न भएको थियो। सो क्रममा साइकल, मोटरसाइकल, ठेला तथा इ-रिक्सा जस्ता सवारी साधनहरूमा प्रतिबिम्ब (रिफ्लेक्टर) स्टिकर टाँसी सडकमा देखिने क्षमता बढाउने र दुर्घटना जोखिम घटाउने प्रयास गरिएको थियो।

कार्यक्रममा ट्राफिक प्रहरी, स्थानीय युवा, समाजसेवी तथा विभिन्न सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता अभियानले विशेषगरी कमजोर आर्थिक अवस्थाका मजदुर, विद्यार्थी तथा दैनिक यात्रुहरूलाई सुरक्षित बनाउन सहयोग पुग्ने बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवालले अधिकांश दुर्घटना ट्राफिक नियमको बेवास्ताका कारण हुने भएकाले सबैले नियम पालनालाई दैनिकी बनाउनुपर्ने बताए। उनले युवा समाजको अग्रसरताले दुर्घटना न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाएको उल्लेख गर्दै आयोजकप्रति धन्यवाद व्यक्त गरे।

त्यस्तै वीरगन्ज युवा समाजका अध्यक्ष संजीव थापाले सडक सुरक्षा केवल औपचारिक कार्यक्रम नभई निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याए। उनले यस्ता अभियान मासिक रूपमा निरन्तर गरिनुपर्नेमा जोड दिए।

सहभागीहरूले पनि यस्ता सचेतनामूलक कार्यक्रमले सडक सुरक्षा संस्कार विकास गर्न सहयोग पुग्ने र भविष्यमा दुर्घटना घटाउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सवारी दुर्घटना न्युन गर्न वीरगन्जमा युवाहरुको अभियान वीरगन्ज- वीरगन्जमा सवारी

सवारी दुर्घटना न्युन गर्न वीरगन्जमा युवाहरुको अभियान वीरगन्ज- वीरगन्जमा सवारी

पोडकास्ट सुन्नुहोस