वीरगन्ज-
बीरगन्जस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ‘ISO 9001:2015’ गुणस्तर व्यवस्थापन प्रणाली (QMS) अन्तर्गतको प्रमाणीकरण सफलतापूर्वक प्राप्त गरेको छ। यस गौरवशाली उपलब्धिले गुणस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षाको सुनिश्चितता तथा संस्थागत व्यवस्थापनप्रति अस्पतालको प्रतिबद्धतालाई अझ सुदृढ बनाएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालको समग्र व्यवस्थापन प्रणाली, दैनिक कार्यप्रणाली तथा सेवा प्रवाहको विस्तृत र कडा मूल्याङ्कनपछि मात्र यो अन्तर्राष्ट्रिय प्रमाणीकरण प्रदान गरिएको हो। वीरगन्ज महानगरपालिका–१५ भेडियाहीमा अवस्थित यस मेडिकल कलेजले ISO ९००१:२०१५ का सम्पूर्ण आवश्यक मापदण्डहरू पूरा गरेपछि यो प्रमाणपत्र पाएको हो।
यस प्रमाणीकरण अन्तर्गत अस्पतालले प्रवाह गर्दै आएका चिकित्सा सेवा, क्लिनिकल तालिम, शिक्षण अस्पताल सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला (ल्याब) सेवा समेटिएका छन्। साथै रेडियोलोजी, फार्मेसी, आपतकालीन (इमर्जेन्सी) सेवा, ब्लड बैंक तथा अन्य सहयोगी सेवाहरूलाई समेत यसै मापदण्डभित्र राखिएको छ। यसले संस्थाको गुणस्तर सुनिश्चितता, निरन्तर सुधार तथा मानकीकृत कार्यप्रणालीप्रतिको प्रतिबद्धतालाई झल्काउने अस्पतालको भनाइ छ।
यस अवसरमा अस्पताल व्यवस्थापनले यो प्रमाणीकरणले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम राख्न, सेवाग्राही सन्तुष्टि अभिवृद्धि गर्न, कार्यप्रणाली व्यवस्थापनलाई प्रभावकारी बनाउन र प्रक्रिया–केन्द्रित सेवा प्रवाहलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
अस्पतालका प्रबन्ध निर्देशकले खुसी व्यक्त गर्दै भन्नुभयो, “ISO 9001:2015 प्रमाणीकरण हाम्रो अस्पतालका लागि केवल उपलब्धि मात्र नभई गुणस्तरीय सेवा, व्यवस्थित प्रणाली तथा निरन्तर सुधारप्रतिको प्रतिबद्धताको प्रमाण हो। बिरामीलाई अझ सुरक्षित, व्यवस्थित तथा सम्मानजनक स्वास्थ्य सेवा प्रदान गर्न हामी निरन्तर प्रतिबद्ध छौँ।”
अस्पताल नेतृत्वले यस अन्तर्राष्ट्रिय प्रमाणीकरणलाई सम्मानसँगै थप जिम्मेवारीका रूपमा लिएको उल्लेख गरेको छ। यस उपलब्धिसँगै नेशनल मेडिकल कलेज शिक्षण अस्पताल यस क्षेत्रकै अग्रणी स्वास्थ्य तथा चिकित्सा शिक्षा संस्थाका रूपमा थप मजबुत रूपमा स्थापित भएको विश्वास गरिएको छ।












