२०८३ जेष्ठ ४ गते, सोमबार १९:३५

समस्याग्रस्त सहकारीका बचतकर्तामा राहतको सुरुवात, पहिलो दिनमै ३७८ जनाले पाए रकम फिर्ता

काठमाडौं –

लामो समयदेखि आफ्नो बचत फिर्ताको प्रतीक्षामा रहेका समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई सरकारले राहत दिन सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आइतबार पहिलो चरणमा ३ वटा सहकारीका ३ सय ७८ जना बचतकर्तालाई रकम फिर्ता गरेको हो ।

समितिका अनुसार कान्तिपुर सहकारी का २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारी का १ सय ५६ तथा पशुपति सहकारी का ७ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन् ।

पहिलो दिन न्यून रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखिएको समितिले जनाएको छ । अब बचत रकमको आधारमा वर्गीकरण गर्दै चरणबद्ध रूपमा रकम फिर्ता प्रक्रिया अघि बढाइने बताइएको छ ।

समितिका अनुसार समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । ५ लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई ‘साना बचतकर्ता’ र सोभन्दा बढी बचत गर्नेहरूलाई ‘ठूला बचतकर्ता’को रूपमा वर्गीकरण गरिएको छ । कुल बचतकर्तामध्ये १८ हजार जनाले ५ लाखभन्दा बढी रकम बचत गरेको समितिको तथ्यांक छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल ले बचत फिर्ता अभियानसँगै सहकारीका ऋण असुली प्रक्रिया पनि तीव्र बनाइएको बताइन् । उनका अनुसार ऋणीहरूको नाम सार्वजनिक गरिएपछि धेरै ऋणीहरू ऋण तिर्न अघि सरेका छन् ।

समितिका अनुसार हालसम्म समस्याग्रस्त सहकारीका ऋणीबाट २ करोड रुपैयाँभन्दा बढी रकम असुल भइसकेको छ । अब ऋण असुली र बचत फिर्ता प्रक्रिया सँगसँगै अघि बढाइने समितिको भनाइ छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस