काठमाडौं –
घुस लिएर सेवाग्राहीको काम गरिदिएको आरोपमा पक्राउ परेका मालपोत कार्यालय भैरहवाका नायव सुब्बा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले मालपोत कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चा विरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचना प्राप्त भएपछि आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले विशेष निगरानी गरेको थियो । सो क्रममा खाम्चालाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको थियो ।
अनुसन्धानका क्रममा जीर्ण श्रेष्ता कायम गर्ने तथा अपुताली जग्गाको नामसारी मिलाइदिने नाममा उनले सेवाग्राहीसँग रकमको मोलमोलाइ गर्दै अन्ततः दुई लाख रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार खाम्चाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत बिगो दुई लाख रुपैयाँ कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
सरकारी कार्यालयमा हुने घुसखोरीविरुद्ध अख्तियारले निगरानी र कारबाहीलाई थप तीव्र बनाएको जनाएको छ ।













