२०८३ जेष्ठ ६ गते, बुधबार २१:२१

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम-

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि विश्वासको मत दिने भएको छ। जसपा नेपाल र लोसपाबीचको एकीकरणपछि विकसित राजनीतिक परिस्थितिका कारण मुख्यमन्त्रीको पद सङ्कटमा पर्न सक्ने आँकलन भइरहेका बेला कांग्रेस र एमालेबीच केन्द्रीय तहमा यस्तो सहमति बनेको हो।

यसअघि गत शुक्रबार नै मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची तय गरिएको भए पनि जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदहरूले ‘फ्लर क्रस’ गर्न सक्ने आशंकाका कारण उक्त प्रक्रिया अन्तिम समयमा स्थगित गरिएको थियो। निर्वाचन आयोगले जसपा र लोसपाको एकीकरणलाई मान्यता दिएसँगै एकीकृत दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिन आनाकानी गरेपछि सरकारको भविष्य अनिश्चित बनेको थियो।

मधेस सरकार संकटमा परेपछि नेपाली कांग्रेस र एमालेको केन्द्रीय नेतृत्वबीच सघन संवाद सुरु भएको थियो। कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले फरक-फरक समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरी सातै प्रदेशका सरकारका विषयमा छलफल गरेका थिए। सोही छलफल र प्रारम्भिक सहमति अनुसार मधेसमा एमालेका सांसदहरूले मुख्यमन्त्री यादवको पक्षमा मतदान गर्ने निर्णय भएको हो।

केन्द्रीय तहमा भएको सहमतिबारे मधेसका एक कांग्रेस नेताले पुष्टि गर्दै भने, ‘मुख्यमन्त्रीलाई अब एमालेको पनि समर्थन रहन्छ। कृष्ण यादवजीले सहजै विश्वासको मत पाउनुहुनेछ।’

यसैबीच, कांग्रेस र एमालेबीच भएको यो नयाँ राजनीतिक सहमतिबारे थप स्पष्ट पार्न र रणनीति तय गर्न बुधबार साँझ कांग्रेस सभापति थापा र उपसभापति शर्माले मधेस प्रदेशका नेता तथा सांसदहरूसँग विशेष छलफल गर्दैछन्। कांग्रेसले महोत्तरीको बर्दिबासमा आजैदेखि सुरु गरेको दुईदिने विशेष कार्यक्रमका लागि पार्टीका शीर्ष नेताहरू यतिबेला मधेस प्रदेशमै रहेका छन्।

मुख्यमन्त्री यादवले अब आगामी जेठ ८ गते बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने नयाँ मिति तय भइसकेको छ। एमालेको समेत समर्थन रहने भएपछि मधेस सरकार सुरक्षित हुने देखिएको छ।

प्रतिक्रिया

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

पोडकास्ट सुन्नुहोस