२०८३ जेष्ठ ९ गते, शनिबार १५:२५

वीरगन्जमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु

वीरगन्ज

पर्साको वीरगन्जमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शनिबारदेखि औपचारिक रूपमा सुरु भएको छ। पर्सा जिल्ला खेलकुद विकास समितिको आयोजनामा वीरगन्जस्थित नारायणी रङ्गशालामा आयोजित एक विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै सदस्य सचिव गुप्ताले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र नभएर देशका लागि आवश्यक अनुशासित र दक्ष खेलाडी उत्पादन गर्ने नर्सरी भएको बताउनुभयो। उहाँले खेलाडीहरूलाई खेल भावना, उच्च अनुशासन र आफ्नो पूर्ण क्षमताका साथ प्रतिभा प्रदर्शन गर्न आग्रह गर्नुभयो। साथै, प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सफल बनाउन सुरक्षा, व्यवस्थापन तथा प्राविधिक पक्षमा विशेष ध्यान दिन आयोजकलाई उहाँको सुझाव थियो।

आइतबारसम्म चल्ने यस प्रतियोगितामा पर्साका चारवटा स्थानीय तह- वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका र ठोरी गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थी (छात्र-छात्रा) हरूको उत्साहजनक सहभागिता रहेको छ।

प्रतियोगिता अन्तर्गत एथलेटिक्स, भलिबल, कबड्डी, कराँते र तेक्वान्दोलगायतका विभिन्न विधाका खेलहरू समावेश गरिएका छन्। जिल्लाभरका विद्यालय स्तरका छात्र-छात्राहरूबीच हुने यस प्रतिस्पर्धाले लुकेर रहेका खेल प्रतिभाहरूको पहिचान गर्न र जिल्लाको खेलकुद विकासमा दूरगामी योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ।

पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक साह कानुको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कार्यालय प्रमुख महम्मद नाजिर हुसेन, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्की, सशस्त्र प्रहरीका नायब उपरीक्षक (डीएसपी) मोहनराज निरौला, र नेपाली सेनाको श्रीजङ्ग गण वीरगन्जका उपसेनानी सन्देश तामाङको उपस्थिति रहेको थियो।

त्यसैगरी, कार्यक्रममा नेपाल कबड्डी सङ्घका केन्द्रीय सचिव महम्मद फिरोज शेख, नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, पत्रकार शम्भु कुमार सुमन, एथलेटिक्स प्रशिक्षकद्वय विश्वेश्वर पटेल र आकाश पटेललगायत स्थानीय खेलप्रेमी, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस