कलैया–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको आन्तरिक विवाद उग्र बनेपछि कलैयामा आयोजित पार्टीको विस्तारित बैठकमा तनाव सिर्जना भएको छ। रास्वपाका पूर्वजिल्ला संयोजक चन्दन स्वर्णकारमाथि गरिएको कारबाहीको विषयलाई लिएर रुष्ट बनेका संस्थापन र पुराना पक्षका कार्यकर्ताहरूले जिल्लाबाट निर्वाचित चारै जना सांसदहरूविरुद्ध उत्रिएर बैठक स्थलबाटै बाहिर निकालेका हुन्।
विवाद बढ्दै गएर स्थिति नियन्त्रण बाहिर जान थालेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले हस्तक्षेप गरी चारै जना सांसदहरूलाई सुरक्षित रूपमा बैठक स्थलबाट निकालेर स्थानीय एक होटलमा पुर्याएको छ।
विवादको चुरो: सांसद भर्सेज पुराना कार्यकर्ता
यो विवादको सुरुवात जिल्लाबाट निर्वाचित चारै जना सांसदहरूले पूर्वसंयोजक स्वर्णकारविरुद्ध केन्द्रमा लिखित रूपमा कारबाहीको पत्र पठाएपछि भएको हो। सांसदहरूले गत निर्वाचनका बेला स्वर्णकारले आफूहरूलाई नसघाएको र अन्तर्घात गरेको आरोप लगाउँदै आएका थिए। सोही असन्तुष्टिका कारण गत वैशाख ३० गते चारै जना सांसदहरूले स्वर्णकारलाई कारबाहीका लागि केन्द्रीय कमिटीमा संयुक्त सिफारिस पठाएका थिए।
सोही सिफारिसका आधारमा केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन अनुसार वैशाख ३० गतेकै केन्द्रीय समितिको बैठकले स्वर्णकारको साधारण सदस्यता समेत खारेज गर्ने निर्णय गरेको थियो। केन्द्रीय कार्यालय संगठन विभागका सचिव शङ्कर श्रेष्ठले जेठ ६ गते प्रेषित गरेको पत्रमार्फत उक्त कारबाहीको आधिकारिक जानकारी गराइएको थियो।
अवसरवादीहरूले निष्ठावान्लाई सिध्याउन खोजे: असन्तुष्ट पक्ष
पार्टीको यो कदमप्रति कडा आपत्ति जनाउँदै स्वर्णकारले यसअघि नै सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोख्दै यसलाई ‘राजनीतिक हत्या’ को संज्ञा दिइसकेका थिए।
शनिबार कलैयामा आयोजित विस्तारित बैठकमा तल्लो तहका र पुराना कार्यकर्ताहरूले यही विषयलाई लिएर सांसदहरूमाथि प्रश्न उठाएका थिए। बैठकमा सहभागी रास्वपाका एक स्थानीय नेताका अनुसार अन्य परम्परागत पार्टीहरूबाट अन्तिम समयमा रास्वपा छिरेर सांसद (माननीय) बनेकाहरूले पार्टीलाई जगैदेखि उठाएका पुराना र निष्ठावान् कार्यकर्ताहरूलाई उपेक्षा गरेको भन्दै आक्रोश विस्फोट भएको हो। “विभिन्न पार्टीबाट अवसर खोज्दै आएर माननीय भएकाहरूले पुराना तथा युवा कार्यकर्ताहरूलाई साथ दिएनन् र उल्टै सिध्याउन खोजे भन्ने गुनासो व्यापक थियो, त्यसैको परिणाम आजको विद्रोह हो,” ती नेताले बताए।
जिल्लाका शीर्ष जनप्रतिनिधिहरू नै कार्यकर्ताबाट लखेटिएको यस लज्जास्पद र गम्भीर घटनाका सम्बन्धमा रास्वपाको केन्द्रीय नेतृत्व र केन्द्रीय कार्यालयबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आइसकेको छैन। यस घटनाले बारामा रास्वपाको सङ्गठनभित्र ‘बाहुला र भित्री’ पक्षबीचको खाडल झन् गहिरो बनाएको राजनीतिक विश्लेषकहरू बताउँछन्।











