२०८३ जेष्ठ ९ गते, शनिबार १६:००

पुलवामा हमलाका योजनाकार हम्जा बुरहानको गोली हानी हत्या

वीरगन्ज-

२०१९ को पुलवामा आतंकवादी हमलासँग जोडिएका अल-बद्रका कमाण्डर हम्जा बुरहान पाकिस्तान प्रशासित कश्मीरमा अज्ञात बन्दुकधारीको गोली प्रहारबाट मारिएका छन्। पछिल्ला दुई वर्षमा पाकिस्तानमा रहेका आतंकवादी गतिविधिसँग सम्बन्धित व्यक्तिमाथि भइरहेका रहस्यमय आक्रमणहरूको श्रृंखलामा यो अर्को घटना बनेको छ।

बुरहानको मुजफ्फराबादमा हत्या भएको हो। अज्ञात आक्रमणकारीहरूले उनीमाथि पटक-पटक गोली चलाएको र घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ।

“डाक्टर” नामले समेत चिनिने बुरहानलाई भारतीय अधिकारीहरूले सन् २०२२ मा जम्मू-कश्मीरको पुलवामा जिल्लास्थित रत्नीपोरा निवासी अर्जुमन्द गुलजार दारका रूपमा पहिचान गरेका थिए। उनी सन् २०१७ मा उच्च शिक्षा अध्ययनको बहानामा पाकिस्तान गएका थिए। पछि भारतीय सुरक्षा निकायहरूले उनी अल-बद्र आतंकवादी संगठनमा आबद्ध भई क्रमशः कमाण्डर बनेको बताएका थिए।

कट्टरपन्थी प्रशिक्षण र सैन्य तालिमपछि बुरहान पुनः कश्मीर फर्किएका थिए। उनले विशेषगरी दक्षिण कश्मीरका युवाहरूलाई आतंकवादी समूहमा भर्ती गराउने र उग्रवादी गतिविधितर्फ आकर्षित गर्ने काम गरेको सुरक्षा निकायहरूको दाबी छ। पुलवामाबाट सुरु भएको उनको सञ्जाल छिमेकी शोपियाँ जिल्लासम्म फैलिएको र उनले पाकिस्तानस्थित विभिन्न आतंकवादी संगठनसँग मिलेर जम्मू–कश्मीरमा गतिविधि सञ्चालन गरेको बताइएको छ।

उनको मृत्यु पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरबाट सञ्चालन हुँदै आएका आतंकवादी सञ्जालका लागि ठूलो धक्का मानिएको छ।

भारतमा भएका सबैभन्दा घातक आतंकवादी हमलामध्ये एक मानिने पुलवामा हमला १४ फेब्रुअरी २०१९ मा भएको थियो। जम्मू–श्रीनगर राजमार्गअन्तर्गत पुलवामाको लेथपोरा क्षेत्रमा भारतीय सुरक्षा बलको काफिलामाथि आत्मघाती हमला गरिएको थियो। विस्फोटक पदार्थले भरिएको सवारीसाधन काफिलाको बसमा ठोक्किँदा ४० जना सीआरपीएफ जवानको मृत्यु भएको थियो।

यो हमला पाकिस्तानस्थित जैश-ए-मोहम्मद आतंकवादी संगठनले गराएको भारतको आरोप थियो। आत्मघाती आक्रमणकारी आदिल अहमद दार रहेको बताइएको थियो। त्यसपछि भारतले पाकिस्तानको बालाकोटस्थित जैश–ए–मोहम्मदको तालिम केन्द्रमा हवाई हमला गरेको थियो।

बुरहानको हत्या पाकिस्तानमा रहेका अन्य आतंकवादी समूहका सदस्यमाथि भएका पछिल्ला आक्रमणहरूको निरन्तरता मानिएको छ। यस महिनाको सुरुआतमा लश्कर-ए-तैयबासँग आबद्ध फरमान अली मुरिद्केमा गोली हानी मारिएका थिए। अप्रिलमा लश्कर कमाण्डर शेख युसुफ अफ्रिदी खैबर पख्तुनख्वामा मारिएका थिए भने लाहोरमा भएको छुट्टै गोलीकाण्डमा लश्करका सह-संस्थापक आमिर हम्जा घाइते भएर बाँचेका थिए।

यसैगरी, पहलगाम आतंकवादी हमलासँग सम्बन्ध रहेको आरोप लागेका पाकिस्तानी सेनाका लेफ्टिनेन्ट कर्णेल इमरान दयाल जनवरीमा डेरा इस्माइल खानमा मारिएका थिए। जैश-ए-मोहम्मदका सदस्य मूस्ताक उर्फ गाजी बाबा पनि सन् २०२५ को अक्टोबरमा पेशावर नजिकै मारिएका थिए। गत वर्ष सिन्ध प्रान्तमा लश्कर कमाण्डर रजाउल्लाह निजामानी उर्फ अबु सैफुल्लाह खालिदको पनि गोली हानी हत्या गरिएको थियो।स्रोतः इन्डिका न्युज

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस