२०८३ जेष्ठ १० गते, आईतवार ११:२८

सीमावर्ती नेपाली बस्ती जोगाउन भारतसँग नेपालको आग्रह

वीरगन्ज –

नेपाल–भारत सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी, लागूऔषध कारोबार तथा डुबान समस्याप्रति नेपाली पक्षले गम्भीर चासो व्यक्त गर्दै भारतसँग प्रभावकारी समाधानको माग गरेको छ ।

भारतको सीतामढीमा शनिबार आयोजित नेपाल–भारत सीमा सुरक्षा तथा समन्वय बैठकमा नेपाली सुरक्षा तथा प्रशासनिक अधिकारीहरूले सीमाक्षेत्रमा बढ्दो अपराध नियन्त्रणसँगै मधेशका सीमावर्ती बस्ती जोगाउने विषयलाई प्राथमिकतामा राखेका थिए ।

बैठकमा भारततर्फबाट हुने मदिरा तस्करी तथा नेपाल हुँदै हुने लागूऔषध ओसारपसार नियन्त्रणका विषयमा विस्तृत छलफल भएको जनाइएको छ । साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, सुरक्षा निकायबीच सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउने तथा संयुक्त सुरक्षा समन्वयलाई थप मजबुत बनाउने विषयमा दुवै पक्षबीच सहमति भएको बताइएको छ ।

विशेषगरी मधेश प्रदेशमा वर्षेनि दोहोरिने डुबान समस्याबारे नेपाली पक्षले कडा रूपमा आवाज उठाएको छ । भारतीय पक्षले सीमाक्षेत्र मिचेर निर्माण गरिरहेको बाँध र तटबन्ध विस्तारका कारण गौरसहित करिब एक दर्जन नेपाली गाउँ डुबानको उच्च जोखिममा परेको भन्दै तत्काल समाधान खोज्न आग्रह गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश भुसालले जानकारी दिए ।

नेपाली अधिकारीहरूले नेपाल–भारत सीमामा वर्षौँअघि निर्माण गरिएको बाँधको स्लुइस गेट बन्द गरिनुका साथै पानी निकासका संरचना पुरिँदा सीमावर्ती नेपाली भूभाग डुबानको जोखिममा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पानीको निकास अवरुद्ध हुँदा नेपाली बस्ती तालजस्तै बन्न सक्ने खतरा बढेको उल्लेख गर्दै तत्काल स्लुइस गेट सञ्चालनमा ल्याउन माग गरिएको छ ।

बैठकमा नेपालको तर्फबाट महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी भएको थियो । नेपाली पक्षले सीमावर्ती नागरिकको सुरक्षा, कृषि भूमि संरक्षण र डुबान नियन्त्रणलाई प्राथमिकतामा राख्दै भारतीय पक्षसँग दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेको जनाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस