वीरगन्ज-
तेलंगानामा तापक्रम अत्यधिक बढेसँगै शंकास्पद ‘हिटस्ट्रोक’ (लू लाग्ने समस्या) का कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ। राज्य सरकारले मृतकका परिवारलाई जनही ₹४ लाख राहत (एक्स ग्रेसिया) घोषणा गरेको छ।
राज्यका राजस्व मन्त्री पोंगुलेटी श्रीनिवास रेड्डीले शनिबार आयोजना गरेको समीक्षा बैठकमा अधिकारीहरूले सात जिल्लामा भएका मृत्युबारे जानकारी दिएका थिए।
आधिकारिक जानकारी अनुसार यस गर्मी मौसममा तेलंगानाका सात जिल्लामा शंकास्पद हिटस्ट्रोकका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ। यता छिमेकी आन्ध्र प्रदेशमा हालसम्म कुनै मृत्यु रिपोर्ट नभए पनि त्यहाँ ३१९ वटा ‘सनस्ट्रोक’ (लू लाग्ने) का घटना दर्ता भएका छन्।
बैठकमा प्राप्त विवरणअनुसार जयशंकर भूपालपल्ली जिल्लामा ४ जनाको मृत्यु भएको छ। वारंगल अर्बन, करीमनगर र निजामाबाद जिल्लामा ३–३ जनाको मृत्यु भएको छ। जोगुलम्बा गडवाल, रंगारेड्डी र सूर्यापेट जिल्लामा १–१ जनाको मृत्यु भएको बताइएको छ।
तर एक अधिकारीले नाम नखुलाउने शर्तमा विभिन्न जिल्लाबाट आएका अपुष्ट विवरणअनुसार शुक्रबारसम्म लूका कारण ३४ जनाको मृत्यु भएको दाबी गरेका छन्। तर जिल्ला प्रशासनले ती मृत्युहरू ठीक रूपमा हिटस्ट्रोककै कारण भएको हो कि होइन भन्ने अझै पुष्टि नगरेको उनले बताए।
राज्य सरकारले मृतकका परिवारलाई जनही ₹४ लाख राहत दिने निर्णय गरेको छ। राजस्व मन्त्रीले क्षतिपूर्ति प्रक्रिया छिटो पूरा गर्न निर्देशन दिएका छन्।
मन्त्री रेड्डीले राज्यमा तापक्रम खतरनाक स्तरमा पुगेको र यसको मुख्य कारण गम्भीर एल निनो प्रभाव भएको बताए। उनले सार्वजनिक स्वास्थ्य सुरक्षामा कुनै लापरवाही नगर्न अधिकारीहरूलाई चेतावनी पनि दिए।
तेलंगाना राज्य विकास योजना समाजको मौसम बुलेटिन अनुसार शनिबार साँझ ५ बजेसम्म राज्यका १९ जिल्लाका धेरै स्थानमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। भद्राद्री कोठागुडेम जिल्लाको डुम्मुगुडेम र जग्तियाल जिल्लाको धर्मपुरीमा अधिकतम तापक्रम ४६.३ डिग्री सेल्सियस मापन गरिएको थियो।स्रोतः हिन्दूस्तान टाईम्स











