वीरगन्ज-
भारत–नेपाल सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमै नक्कली नोटको कारोबारमा सक्रिय गिरोहका मुख्य आरोपी (नाइके) दया तिवारी उर्फ सुशील तिवारी पक्राउ परेका छन्। बिहार एसटीएफ, आर्मी इन्टेलिजेन्स र हरैया थाना प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
बिहार प्रहरी मुख्यालय (विशेष कार्य बल) ले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, मिलिट्री इन्टेलिजेन्स, लखनऊबाट प्राप्त विशेष सूचनाका आधारमा एसटीएफको टोलीले मेजरगंज थाना क्षेत्रमा छापा मारी तिवारीलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका तिवारी सीतामढी जिल्लाको शिवहर थाना क्षेत्र अन्तर्गत खैरवा गाउँका निवासी हुन्।
तिवारीविरुद्ध हरैया थानामा काण्ड नम्बर २३/२६ अन्तर्गत विभिन्न गम्भीर धाराहरूमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। उनी गत जनवरी ३१ मा हरैया थाना प्रहरीले गरेको जाली नोट सम्बन्धी एक ठूलो अपरेसनदेखि फरार रहँदै आएका थिए।
त्यसबेला प्रहरीले जाली नेपाली तथा भारतीय नोट कारोबारको खुलासा गर्दै एक नेपाली नागरिकसहित आठ जनालाई पक्राउ गरेको थियो। उक्त कारबाहीका क्रममा प्रहरीले करिब २५ लाख रुपैयाँ बराबरको नेपाली नक्कली नोट, १८ हजार ५०० रुपैयाँ भारतीय नक्कली नोट, एक दर्जन मोबाइल फोन, पासपोर्ट, सवारी साधनका साथै नोट छाप्न प्रयोग हुने सादा कागज, केमिकल र अन्य उपकरणहरू बरामद गरेको थियो।
अनुसन्धान एजेन्सीहरूका अनुसार दया तिवारी सोही प्रकरणका मुख्य सरगना हुन्। उनको आपराधिक सञ्जाल भारत, नेपाल र बंगलादेशसम्म फैलिएको र उनी लामो समयदेखि जाली नोट छपाइ, आपूर्ति तथा ठगी धन्दामा सक्रिय रहेको खुलेको छ। आर्मी इन्टेलिजेन्स र बिहार एसटीएफले उनको गतिविधिमाथि लगातार प्राविधिक निगरानी राख्दै आएकोमा अन्ततः उनी पक्राउ परेका हुन्।











