२०८३ जेष्ठ ११ गते, सोमबार १४:१४

आन्दोलनको नाममा अराजकता फैलाउँदै आएका दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान प्रतिवेदन बुझाइयो

वीरगन्ज –

विभिन्न बहानामा देशभर आन्दोलनको नाममा अराजक गतिविधि सिर्जना गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले हिरासतमा रहेका प्रसाईंमाथिको अनुसन्धान पूरा गरी सोमबार प्रतिवेदन बुझाएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक(डिएसपी) हरि बस्नेत का अनुसार प्रसाईंविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ तथा राज्यविरुद्धको कसुर अन्तर्गत मुद्दा चलाउन रायसहित प्रतिवेदन पेश गरिएको छ ।

प्रहरीले जेठ ४ गते प्रसाईंलाई वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा विभिन्न युट्युब च्यानलमार्फत उनले दिएको अभिव्यक्ति, सार्वजनिक भाषण तथा सामाजिक गतिविधिलाई आधार बनाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार प्रसाईंले सार्वजनिक अभिव्यक्तिमार्फत महिलामाथि अपमानजनक टिप्पणी गर्नुका साथै सेना, प्रहरीलगायत राज्यका संवेदनशील निकायलाई लक्षित गर्दै अश्लील र होच्याउने अभिव्यक्ति दिएका थिए । यस्ता गतिविधिले सामाजिक सद्भाव तथा सार्वजनिक शान्ति भंग गर्ने जोखिम बढाएको प्रहरीको निष्कर्ष छ ।

त्यस्तै, उनले एक युट्युब अन्तर्वार्तामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ तथा धरानका मेयर हर्क सम्पाङ लाई एउटै समूहले सञ्चालन गरिरहेको दाबी गरेका थिए ।

हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको पक्षमा अभिव्यक्ति दिँदै उनले त्यसका लागि समर्थन जनाए बालेन्द्र शाहको फोटो घरमा राख्ने टिप्पणी समेत गरेका थिए । साथै, प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतलाई लिएर पनि प्रसाईंले विवादास्पद तथा अश्लील टिप्पणी गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रसाईं वीरगन्जस्थित गहवा माई मन्दिर दर्शन गर्न तथा त्यहाँ संरचना हटाइएका स्थानीयलाई सम्बोधन गर्न भन्दै पर्सा पुगेका थिए । यसैबीच, सर्वोच्च अदालत ले उनलाई सोमबारसम्म हिरासत मुक्त गर्न आदेश दिएको बताइएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस