वीरगन्ज–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि पन्तले आगामी आर्थिक वर्षको बजेटमा वीरगञ्जस्थित नारायणी रङ्गशाला र नारायणी अस्पताललाई उच्च प्राथमिकतामा राख्न सरकारसँग माग गर्नुभएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले मधेश प्रदेशको प्रमुख व्यापारिक सहर वीरगन्जले मुलुकको अर्थतन्त्रमा सर्वाधिक योगदान पुर्याउँदै आए पनि विकास निर्माणका योजनामा केन्द्र सरकारबाट निरन्तर उपेक्षामा परेको आरोप लगाउनुभयो। उहाँले दशरथ रङ्गशालापछिको देशकै ठूलो भौतिक संरचना भएको नारायणी रङ्गशालाको स्तरोन्नति तथा ऐतिहासिक नारायणी अस्पतालको सेवा सुधारका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग आग्रह गर्नुभयो।
सांसद पन्तले वीरगन्जमा संकटग्रस्त बनेको सानोपाइला सहकारीका बचतकर्ताहरूको रकम फिर्ता प्रक्रिया तत्काल अघि बढाउन समेत सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो। सर्वसाधारण बचतकर्ताहरू लामो समयदेखि आफ्नो दुःखजिलो गरी जम्मा गरेको रकम फिर्ता पाउने प्रतीक्षामा रोएर बसिरहेको उल्लेख गर्दै उहाँले यो समस्या समाधानमा गृह र भूमि व्यवस्था मन्त्रालय गम्भीर बन्नुपर्ने बताउनुभयो।
त्यसैगरी, उहाँले वीरगन्जको गण्डकदेखि मितेरी पुल (भन्सार) सम्मको ६ लेन सडक क्षेत्रमा २५ मिटर बढाउने नाममा गरिएको संरचना भत्काउने अभियानप्रति कडा असन्तुष्टि जनाउनुभयो। छोटो सूचना र विस्थापितहरूको स्पष्ट व्यवस्थापन योजना बिना डोजर चलाउँदा त्यस क्षेत्रका करिब १ हजार २०० घरधुरी प्रत्यक्ष प्रभावित भएको र सयौँ परिवार घरबारविहीन बन्ने अवस्था आएको उहाँले संसद्मा जानकारी दिनुभयो।
सांसद पन्तले वीरगन्जको मुख्य बजार क्षेत्रको यो समस्यालाई काठमाडौँको बागमती किनारको अव्यवस्थित बस्ती जस्तो सोचेर नजरअन्दाज नगर्न आग्रह गर्दै रैथाने र वैधानिक घरधनीहरूको उठिबास लगाउनु अघि प्रभावित नागरिकहरूको उचित मुआब्जा र व्यवस्थापनका लागि सरकारलाई तत्काल ठोस पहल गर्न जोडदार माग गर्नुभएको छ।











