२०८३ जेष्ठ १४ गते, बिहीबार १७:५५

बारा पर्सा सहित देशभर धुमधामले बकर इद मनाइदै


वीरगन्ज –

मुस्लिम धर्मावलम्बीहरूले आज महान पर्व बकर इद अर्थात् इदुल जोहा श्रद्धा, भक्ति र उत्साहका साथ मनाइरहेका छन् । बारा, पर्सा लगायत देशभरका मस्जिद तथा इदगाहमा बिहानैदेखि नमाज अदा गर्ने र शुभकामना आदानप्रदान गर्ने क्रम जारी रहेको छ । आज बिहानै मुस्लिम धर्मावलम्बीहरूले स्नान गरी नजिकैका मस्जिद वा इदगाहमा पुगेर सामूहिक नमाज अदा गरेका छन् । नमाजपछि एकअर्कामा शुभकामना साटासाट गर्ने तथा परिवारसँग खुशी साट्ने परम्परा रहेको छ ।

बकर इदको औसरमा विहानै पर्साको सदर मुकामन वीरगन्जको छपकैया इदगाह, लाठगतीमा अवस्थित बढी मस्जिद, मुर्ली मस्जिद लगायतका स्थानमा नमाज आद गरी एक अर्कालाई शुभकामना दिएका छन् ।

इस्लाम धर्मअनुसार बकर इद त्याग, बलिदान र मानव सेवाको सन्देश दिने महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ । धार्मिक मान्यताअनुसार हजरत इब्राहिमले अल्लाहप्रतिको पूर्ण आस्था र समर्पण देखाउँदै आफ्नै पुत्रलाई बलिदान दिन तयार भएको सम्झनामा यो पर्व मनाउने गरिन्छ । त्यसैको प्रतीकस्वरूप मुस्लिम समुदायले पशु कुर्बानी दिने परम्परा कायम रहेको छ ।

कुर्बानी गरिएको पशुको मासु परिवार, आफन्त तथा गरिब–दुःखीबीच बाँड्ने चलनले सामाजिक सद्भाव, सहकार्य र मानवीय भावनालाई थप मजबुत बनाउने विश्वास गरिन्छ । बकर इदले आपसी भाइचारा, सहयोग र सहिष्णुताको सन्देश दिने भएकाले मुस्लिम समुदायका लागि यो पर्व विशेष महत्व राख्दछ ।

सरकारले पनि बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस