नयाँ दिल्ली –
ओमानको तटनजिकै बुधबार एउटा व्यापारिक जहाजमाथि भएको अमेरिकी सैन्य आक्रमणको भारत सरकारले कडा शब्दमा निन्दा गरेको छ। उक्त आक्रमणपछि जहाजमा सवार चालक दलका तीन जना भारतीय सदस्य बेपत्ता भएका छन्।
भारतले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै नयाँ दिल्लीस्थित अमेरिकी दूतावासमार्फत औपचारिक विरोध (Diplomatic Protest) दर्ता गराएको टाइम्स अफ इन्डियाले जनाएको छ।
ओमानको खाडी पार गरिरहेको पलाउको झण्डा बोकेको ‘सेटेबेलो’ नामको व्यापारिक जहाजमाथि सटिक प्रहार गर्न सक्ने अत्याधुनिक हतियार प्रयोग गरी आक्रमण गरिएको थियो। आक्रमणको समयमा उक्त जहाजमा २४ जना भारतीय नाविक सवार रहेकामा २१ जनाको सुरक्षित उद्धार गरिएको छ भने बाँकी ३ जना अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ।
भारतीय परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव नागराज नायडुले नयाँ दिल्लीस्थित अमेरिकी कार्यवाहक राजदूत जेसन मिक्सलाई मन्त्रालयमै बोलाएर औपचारिक कूटनीतिक विरोधपत्र बुझाएका छन्। करिब २५ मिनेटसम्म चलेको उक्त बैठकमा भारतीय पक्षले सुरक्षाको विषयलाई लिएर कडा असन्तुष्टि व्यक्त गरेको थियो।
विशेष कुरा के छ भने, ‘सेटेबेलो’ जहाज अमेरिकी वैदेशिक सम्पत्ति नियन्त्रण कार्यालय (OFAC) को कालोसूचीमा परेको जहाज थिएन। बिनाकारण गैर-सैन्य र गैर-प्रतिबन्धित व्यापारिक जहाजमाथि आक्रमण भएको भन्दै भारतीय अधिकारीहरूले आपत्ति जनाएका हुन्। हालैका दिनमा भारतीय चालक दलका सदस्यहरू सवार जहाजमाथि अमेरिकी सेनाले गरेको यो दोस्रो आक्रमण हो। यसअघिको घटनामा भने भारतले सार्वजनिक रूपमा विरोध जनाएको थिएन।
भारतीय अधिकारीहरूले समुद्रमा नागरिक तथा नाविकहरूको सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिँदै व्यापारिक जहाजहरूलाई निशाना बनाउने कार्य तत्काल बन्द गर्न माग गरेका छन्।
यसअघि गत अप्रिल महिनामा पनि इरानले होर्मुज जलमार्ग हुँदै गइरहेका भारतीय ट्यांकरहरूलाई निशाना बनाएपछि भारतले इरानी राजदूत मोहम्मद फथालीलाई बोलाएर कडा विरोध जनाएको थियो।
बुधबारको पछिल्लो घटनापछि भारतीय परराष्ट्र मन्त्रालयले क्षेत्रीय जलमार्गमा भइरहेका लगातारका आक्रमणहरू गम्भीर चिन्ताको विषय बनेको उल्लेख गरेको छ। मन्त्रालयले व्यापारिक जहाज तथा नागरिक पूर्वाधारमाथि हुने आक्रमण तत्काल बन्द हुनुपर्ने र अन्तर्राष्ट्रिय कानुनअनुसार अन्तर्राष्ट्रिय जलमार्गमा स्वतन्त्र तथा अवरोधरहित नौवहन (Free Navigation) र व्यापार पुनःस्थापित गरिनुपर्नेमा जोड दिएको छ।











